तिलिचो ताल र मेरो अहोभाग्य
-अद्भुत यात्राको अनुभव समिश्रित नियात्रा

आत्म साक्षात्कार खासगरी मनाङ जाने कुरा गतवर्षनै भएको थियो कारण मनाङमा बन्दै गरेको होटलको केही फर्निचरका काम एस डी फर्नीचर र फर्निसिङ्ग प्राइभेट लिमिटेड(S.D. Furniture & Furnishing Pvt. ltd.) ले पाएको थियो जुन संस्थामा मेरो उपस्थिति निर्देशक (Director) को रुपमा छ । साथीहरुले निप्ट्याएको कामलाई हेर्न र होटेलको मालिकलाई भेट्नु थियो केही कारणवस् पोहोरसाल जान सकिएको थिएन तर यस वर्ष भने साहुजी/मालिक आफै मेरो बासस्थान आउनुभएपछि मलाई झन् जानैपर्ने बहाना आइहाल्यो | त्यसपछि यो एक अद्भुत यात्राको अनुभव बन्यो । त्यसैको भावलाई समेट्न आगामी हरफहरू लेख्ने प्रयत्न गरिएको छ । आगामी हरफहरूले यो यात्रा सुरु गर्नु अगाडि देखि अन्तसम्मका अनुभव तथा संयोगहरूलाई समेट्ने छन् ।
यात्राको अनुबन्धन हितैषी मित्र दिपेश श्रेष्ठ र मेरो बिच मिति २०८२ भाद्र २९ को दिन मनाङको यात्रामा निस्किने तत्पश्चात ठोराङला पास हुँदै मुक्तिनाथ जाने सल्लाह भएको थियो । देशमा आएको राजनैतिक आँधी र जेन्जीको(Genz) आन्दोलनले गर्दा हाम्रो यात्राको समयमा हेरफेर गर्नुपर्ने अवस्था आइलाग्यो । त्यसैले गर्दा साथी दिपेशको नभ्याउने अवस्था सिर्जना हुनपुग्यो । मनाङ त मलाई एक्लै भएपनि जानु नै पर्ने स्थिति थियो। मनाङमा कार्यरत साथीहरू वा आफ्नै भाई र भतिजहरूसँग तिलिचो ताल जाने निधो गर्दै यात्रामा केही हेरफेर गरियो । यात्रालाई आवश्यक सामानहरू पोको पारेर म असोज १ गते बुधबारको दिन बिहान ६ बजे घरबाट निस्किए । काठमाडौंबाट लमजुङ जिल्लाको बेंसीशहरसम्म जाने व्यवस्थापन माइक्रो बसले गर्ने रहेछन् । यात्रामा नगद आवश्यक पर्ने निश्चित थियो तर मसँग भने माईक्रोलाई भाडा दिनेसम्म नगद व्यवस्थापन थिएन । सीतापाइला चोक वरपर रहेको एटिएम (ATM) मसिनहरूमा गए पाइएला भन्ने लाग्यो र त्यतै मोडिए । यद्यपि मेरो अपेक्षा निस्फल हुनेवाला थियो । त्यहाँका एटीएमहरूमा ताला लागेको थियो । त्यसको दोषको जिम्मा पनि जेन्जीको (Genz) आन्दोलले पायो । सायद त्यो थप आन्दोलन हुने डरकै असर थियो । लामो समयको कसरत पश्चात अन्त्यमा ग्लोबल बैंकको एटिएम भेटियो र मेरो काम फत्ते भयो ।
काठमाडौं छोड्दाछोड्दै माछापोखरीबाट माइक्रोबस छुटेर आयो म सीतापाइलामा नै पर्खिरहें । माइक्रोबस अगाडि आएर रोकियो । सहचालकले ढोका खोलिदिए । म आफ्नो सिटमा गएर बसें । चालक सोल्टी हेर्दा मसँगै मित लाउनुपर्ने खालका थिए । यसको मतलब हाम्रो अनुहार र हाउभाउ मिलेको पटक्कै होइन । उनको र मेरो गाड़ी हाँक्ने छाँट चैं दुरुस्त भएर हो! उनी तिव्र गति सँगसँगै केही कम सावधान (Rough) भएर सवारी चलाउने रहेछन् । त्यसो त माइक्रो भनेपछि हाम्रो दिमागमा तिव्र कुद्ने र सानो ठाउँ पाउनासाथ घुसीहाल्ने सवारीको चलचित्र देखापर्छ । त्यसले कहिलेकाहीं अनावश्यक ट्राफिक जाम र दुर्घटना पनि गराउने गर्छ। हामी भएको माइक्रो भित्र यात्रुहरू भरिभराउ नै थियो साथै छतपनि भरिभराउनै थियो। छतमा त्यति धेरै सामान राख्न मिल्ने नमिल्ने त्यो मलाई थाहा भएन तर गुरुजीको साधन चलाई देख्दा छतको सामान चाहिँ पक्का झर्ला जस्तो लागेको थियो । अन्ततः झरिपनि हाल्यो ! धन्न एकजना यात्रु साथीले झोला झरेको देखिहाले र गुरुजीलाई अवगत गराइहाले नत्र कसैलाई हेक्का नै नहुनेवाला थियो । गाडीको स्पिड धेरै नै रहेकोले त्यति भनुन्जेलमा पनि हामी करिब २०० मिटर पर पुगिसकेको थियौं । त्यसपछि गाडी ब्याक आएर ब्याग लिइयो । सौभाग्यले त्यसमा केही फुट्ने सामान रहेनछ । त्यसदिन मौसम अदलबदल भइकन सिमसिमे वर्षा भइरहेको थियो । त्यसले हाम्रो यात्रालाई खास्सै त्यस्तो फरक परेन । मौसम रोमाञ्चक भने देखिन्थ्यो र मन भने प्रफुल्लित हुन गयो । तनहुँ जिल्लाको डुम्रे बजारबाट माइक्रो लमजुङ जिल्लातिर मोडियो । पोखरा-काठमाडौं राजमार्गलाई त्यहि छोडेर हामी बेंसीशहर जोड्ने लोकमार्गतिर मोडियौं । पाउदिमा पुगेर माइक्रोबस रोकियो । त्यहाँ केही यात्रु ओराल्नुपर्ने रहेछ । मैले पछि मात्र पो थाहापाए पाउदि बजार तनहुँ र लमजुङको सिमानामा रहेको ठाउँ रहेछ। त्यसपछि सुन्दर बजार हुँदै बेंसीशहर पुग्यौ । माइक्रोको यात्रा यहिसम्मकाे थियो । यसपछि मेरो यात्राको साधन र स्वरूप दुवै बदलिनेवाला थियो ।

बेंसीशहर पुगेपछि यात्रामा मलाई मनाङसम्म लिएर जाने बोलेरो पिकअप मेरै आगमन पर्खिबसेको थियो । अघिल्लो दिन नै मेरो आगमनको निधो भइसकेकोले होला या भनौं निधो नमानेर हो बोलेरो चालकले कम्तिमा पनि ६/७ पटक फोन गरिसकेका थिए ! म आउँदै छु भन्ने थाह पाउनमात्र होला भन्ने मान्नलाई मेरो मनले पटक्कै मानेन । एक मनले सायद उस्लाई अझै पक्का हुनुथियो होला भन्ने लख काट्यो र मनको अर्को पाटोले अरुकेही गुपचुप खिचडी छ भन्ने लागिरह्यो । पछिमात्र पो थाह पाएँ उसलाई म आएको गाडीमा अरु कोहि मनाङ्ग जाने मित्र छन् कि भनेर बुझ्नुपरेको रहेछ । त्यसै त मलाई “तपाई अहिले कहाँ पुग्नुभयो” भनेर सोधिराख्न उसलाई पोकिन जाँगर चल्थ्यो ! गुह्य कुरो बुझेपछि मैले पनि लौ न त भनेर कोही मनाङ जाने हुनुहुन्छ भनि सोधिहाले! त्यहाँ अरु तीनजना सोही बाटो हुँदै मनाङ त होइन तर च्यामेसम्म जाने भेटिए । त्यस संयोगले म समेत चारजना यात्री बोलेरो चालकलाई हात लाग्ने भो र अर्को संयोग भन्नुपर्छ ठ्याक्कै चारजना यात्रु नै चाहिएको रहेछ उनलाई । त्यहाँबाट माथितिर जान बहाना भैहाल्यो । त्यसपछि हामी हिँड्यौ मनाङ्ग सरर…! बेंसीशहरबाट मनाङसम्मको बाटो करिब ९०-९१ किलोमिटर रहेछ तर बाटोको अवस्था त्यति राम्रो नभएको हुँदा दिउँसो १:१५ मिनेटमा सुरु भएको हाम्रो यात्रा बेलुका ८ बजे बल्ल मनाङ पुग्यो । केही समय ढीलो हुनुमा गाडीमा आएको समस्या पनि थियो । हुम्दे भन्ने ठाउँमा पुगेपछि गाडीले पिकअप राम्रो दिएन र गाडी बिस्तारै हिँड्यो तर त्यहाँ एउटा डरले सताएको थियो त्यो थियो जंगलको बीचमा त्यो पनि साँझको ६ बजे गाडी चल्दै चलेन भने के होला भन्ने चिन्ताले सताइरह्यो । हाम्रो साइत शुभ रहेछ र धन्न त्यस्तो केही भएन । यो समय दौरानमा मैले एकजना लक्का जवान भाई (Sumip Rai) लाई भेटेँ जो एक्लै तिलिचो जाने भनेर हिँडिरहेका रहेछन् । गन्तव्य एउटै भएको हिसाबले हामी यात्राका सहयात्री भइसकेका थियौं । समीप भाइले पनि मलाई नै फलो गर्ने कुरा गरेपछि म जुन साहुजीको होटेलमा जाँदै थिएँ तिनीलाई पनि त्यही वास बस्ने बन्दोबस्त गरिदिएँ |
खाङसारदेखि तिलिचोसम्म यात्राको दोश्रो दिन अर्थात् असोज २ गते ५ जना तिलिचोको लागि होटेलबाट निस्कियौ । अझै खाङसारसम्म गाडीमा जान सकिने भएकोले हामीले ४००० रुपैयाँ तिरेर खाङसार सम्म बोलेरो मा जाने निधो गरेम् । त्यसको विभाजन समीप भाइ र पंक्तिकारको सहमतिमा भयो । बिहानको त्यस्तै ८ बजे खाङसारबाट हाम्रो पैदल यात्रा सुरु भयो । मैले आफूलाई भाग्यमानी ठान्नुपर्छ कि मैले कुनै ब्याग बोक्नु परेन मेरा सबै सामान भाइ-भतिजहरूले बोके म सिर्फ लौरो को मद्दत लिएर भाइ-भतिजाहरूसँगै उनीहरूको चालमा हिँडे। यात्री ठिटाहरू तगडा रहेछन् । गाउँघरमा भारी बोकेका र डाँडाकाँडा हिडिरहने भएर होला, केही नबोकी हिँड्दा पनि सँगै हिड्नसम्म मलाई नै हम्मेहम्मे पर्यो | सायद त्यसैले पनि होला अरुलाई ६ घण्टा लाग्छ भनेको दूरी हामीले चार घण्टामा पूरा गर्यौ, तर समीप भाई भने हाम्रो रफ्तारमा हिँड्न सकेन र ऊ हामीभन्दा डेढ घण्टा पछाडि बेस क्याम्प पुग्यो । दूरीको राम्रो अवलोकन नहुँदा र डाडाकाँडाको अवरोधले गर्दा गन्तव्य सिधा नदेख्दा हामीले सोच्यौं कि अझै बाटो लामो छ! बाटोमा भोक लाग्यो, लाग्यो जस्तो महशुस भएपछि होटलबाट लिएर आएको बिस्किट खाने निधो गर्यौ । हाम्रो पेट पूजा कार्यक्रम सम्पन्न गरिसकेपछि यात्रा सुरु गर्यौ । त्यहाँबाट दुई मिनेटको हिंडाई के हिँडेथ्यो त्यसपछि त त्यो दिनको गन्तव्य बेस क्याम्प पो देखा पर्यो । हामी उभिएको ठाउँबाट हेर्दा मात्रै १५-२० मिनेटको दुरीमा देखिन्थ्यो । हामी एकआपसमा ठट्टा गर्न थाल्यौ; “हैट यति नजिक भनेर थाहा भएको भए त बिस्कुट खाने नै थिएनौ नि !” बेसक्याम्पमा पुग्ने बित्तिकै खाना कसरी खाने समीप भाइ त पछि थियो । त्यसैले होटल तिलिचो पुगेपछि उस्लाई कुरेर सबैले सँगसँगै खाना खाने कुरा भयो । समिपलाई त्यतिकै पर्खिनु सट्टा हामीले आराम गर्ने निधो गर्यौ र सुत्यौं । त्यस दिन पनि हल्का पानी परिरहेको थियो । मैले मनमनै भगवानलाई सम्झिँदै थिए; “अहिले जति पानी परे पनि भोलि चाहिँ पानी नपरोस् प्रभो !” यात्राको तेश्रो दिन अर्थात् असोज ३ गते । देशको संविधान जारी भएको दिन । नेपालीको संविधान दिवस । ईश्वरले मेरो हिजोको प्रार्थना आंशिक सुनेछन् बिहानपख फुसफुसे हिउँ खसेझैं शीत झरिरहेको थियो । त्यस्तो मसिनो पानीले यात्रामा बाधा पार्दैन सोचेर हामी पानी परिरहेको अवस्थामा नै झिसमिसे नहुँदै ५:४५ बजेतिर तिलिचो प्रस्थान गर्यौं । यसपटक भने युवा यात्री दलको भाई भतिजाहरूको हिँडाइको गति झन् बढी थियो । कारण अलिअलि बोकिरहेको भारी पनि होटलमा छोडेका थियौं । त्यसैले पनि होला सामान्य रुपमा चार घण्टा लाग्छ भनेको बाटो हामीले साढे दुई घण्टामा पूरा गर्यौ । यद्यपि समीप भाई भने हिँड्न नसकेर बाईस घुम्तिको उकालोबाट घोडामा चढेर माथि तिलिचोसम्म आइपुगेछ । अप्ठेरोमा कृपा पाउने मैले आफूलाई जस्तै समीपलाई पनि भाग्यमानी भन्नुपर्छ किनकि बीच बाटोमा अलपत्र पर्दा उसले पनि घोडाको साथ पायो ! उसलाई सन्चो पनि थिएन । चिसोले टाउको दु:खिरहेको रहेछ तर पनि अघि बढ्न कोसिस गरेको रहेछ | मेरो विचारमा उसलाई चिसो लाग्नुको कारण उसले अघिल्लो दिन घाम लागेको छ भनेर लुगा फुकालेर बसेको थियो । त्यसैले घाम लागेको अवस्था भएपनि त्यस्तो ठाउँमा जाँदा लुगा फुकालेर बस्ने काम गर्न नहुने रहेछ भन्ने पाठ भो मलाई ! मसँग, मेरो भाई दिलबहादुर मोक्तान तिलिचोको डिलमा ८:२५ मा पुग्यौं । त्यहाँ एक कप हट चकलेटलाई रू ६०० तिरेर खायौं । हट चकलेट खाएपछि ज्यानमा केही तातो पस्यो र यसपछि हामी फोटो खिच्न थाल्यौं । भाईले अरुको फोटो खिच्दै सहयोग गरिरहेको मैले देखिरहेको थिएँ । हामीहरुले तिलिचोको तिरमा पुगेर पानी छुने र मुख धुने साथै विभिन्न पोजमा फोटो खिच्ने काम गर्यौ । त्यहाँ लगभग डेढ घण्टाको बसाइपछि हामी पाँचजनाको टोली एक ठाउँमा जम्मा भयौं । तिलिचो लेखेको बोर्डमा बसेर सामूहिक फोटो खिचिसकेपछि लगभग दुई घण्टा जति माथि बसेर हामी बेस क्याम्पतिर फर्क्यौँ । करिब १२:४५ मिनेटको समय अवधिमा हामी बेस क्याम्प आइपुगेयौ, तर समिप भाई भने लगभग एक घण्टापछि आइपुग्यो । त्यहाँ हामीले एक घण्टा खाना खाएर आराम गर्ने निर्णय गर्यौँ। दिनको २:१५ मिनेटमा हामीले बेसक्याम्प छोड्यौं । बेसक्याम्पको साथै हामीले समीप भाइलाई पनि छोड्यौं । बिसञ्चो भएकोले हिँडेर जाने कुरामा आँफै विश्वस्त थिएन । त्यसैले उसले आफू घोडामा चढेर यात्रा गर्ने सम्भावना भएको बतायो । अन्यथा त्यहीं आराम गर्ने उत्तम विकल्प भएको सल्लाह भयो । समिपलाई विदाई हात हल्लाएर हामी ओरालो झर्यौं । बेसक्याम्पबाट ओरालो लागेको करिब तीन घण्टामा हामीले बेसक्यामदेखि खरसाङ सम्मको दूरी पार गर्यौ । त्यहाँ केही सामान किन्नुपर्दा आम बजार हेरी धेरै गुणा महँगो तिर्नुपर्ने रहेछ ! चिसोले ओठ फुटेको कारण मैले लिपगार्डलाई १५० रुपैयाँ तिरेर लिनुपर्यो। त्यसलाई शहर बजारमा ४०-५० रुपैयाँमा किन्न पाइन्छ । यदि बोक्न सकिन्छ भने आधारभूत सामानहरु तल्लो बजारबाट नै किनेर लिएर जाँदा राम्रो हुँदो रहेछ । त्यो विकट ठाउँमा जसरी सामान पुर्याइन्छ त्यो हिसाबले हेर्ने हो भने त्यो पैसा ठिकै पनि हो भन्नुपर्छ । बाट मनाङ पुग्न डेढ घण्टादेखि २ घण्टा लाग्ने रहेछ तर हामी भाग्यमानी भन्नुपर्छ हामीले खाङसार पुग्दै गर्दा माथि तिलिचोमा फोटो खिचाउने टोलीलाई भेट्यौ । केहीबेरको भालाकुसारीमा थाहा लाग्यो कि उहाँहरू एपीएफका टोलीहरू हुनुहुँदो रहेछ ! उहाँहरूले आफ्नो सवारी लिएर आउनुभएको रहेछ | सोध्दामा केही जाँदैन भन्ने लाग्यो र हामीले टोली सदस्यलाई गाडीमा ठाउँ छ भने हामीलाई मनाङसम्म छोडिदिनुहुन्छ कि भन्यौँ ! हाम्रो आग्रहको प्रतिउत्तर जवाफ तुरुन्त आयो; “हाकिमले हुन्छ भन्नुभयो भने हामीलाई समस्या छैन ।” हाकिमलाई कुरा राख्ने कुरा भयो । हाकिम चाहिँ को हो भनेर बुझि ल्याउँदा त भाइले फोटो खिच्न सहयोग गरेको व्यक्ति नै पो हुनुहुँदो रहेछ ! त्यसैले हामीले पनि जुक्ति लगायौ र भाईलाई नै गफ गर्न लगायौं । वार्ताको जवाफ सकारात्मक आयो र हामी खाङसारबाट मनाङसम्म एपीएफको (APF) गाडीमा चढेर सजिलै आइपुग्यौँ । उहाँहरूलाई धेरै धेरै धन्यवाद ।

खरसाङ फर्किएर हामी एपीएफ (APF)को पिकअप गाडीको पछाडि बसेर यात्रा गर्दागर्दै कताकता मनमा कुरा खेल्यो; “हामीलाई देखेर मान्छेहरुले सोच्दै होलान् कि यी केटाहरूले के बिगार गरे एपीएफले समातेर लिएर जादै छ ।” मनोविज्ञान भनेकै त्यहि होला ! खैर, हामीले हाम्रो यात्रा पूरा गर्यौ । त्यसको सन्तुष्टि अरूले के सोचे होलान् भन्ने पीर भन्दा निक्कै ज्यादा थियो । त्यहाँबाट अगाडि बढ्दै साँझ ५:१५ मा मनाङ बजार पुगियो । त्यहाँ पुगेपछि भाई र भतिजाहरूले मलाई मनाङ घुमाउने काम गरे जहाँ मैले वडा कार्यालय देखि त्यहाँको गुम्बा र स्वास्थ्य चौकी अन्य भौतिक चिजहरूको अवलोकन गर्ने मौका पाएँ । त्यसपछि जुन साहुजीको काम हेर्न गएको थिए त्यो त उज्यालोमा नै हेर्नुपर्छ भनेर साइटभिजिट गर्नतिर लागे | अहिले चलिरहेको होटल चाहिँ नर्थ पोल (Northpole) होटल हो । जनमानसबाट सुन्नमा आए अनुसार होटल सञ्चालित घर चाहिँ चर्चित व्यक्ति दीपक मनाङ्गेको हो अरे । समीप भाई पनि बेलुका ८ बजेतिर मनाङ आइपुगेछन् । संयोगले वास वस्न हामी बसेकै होटलमा आइपुग्यो र थाहा भयो, हामी हिँडेपछि ऊ घोडामा आइरहेको रहेछ | लगातारको हिँडाइले ज्यान निक्कै थाकेको महशुस हुन थालिसकेको थियो । त्यसैले अब आरामको मात्रै ध्याउन्न भयो । त्यस रात तातो पानीले नुहाएर सुतेको म भोलिपल्ट बिहान ५:३० मा उठेछु ! अब काठमाडौँ फर्किने तरखरमा भाई र होटलका साहुजी श्री पेम्बा ज्यूले हाम्रो लागि बेसी सहरसम्म जानको लागि बोलेरोमा अगाडिको सिटको चाजोपाजो मिलाइ सक्नुभएको रहेछ ! हामी आश्विन ४ गते बिहान बोलेरोमा बेंसीशहर पुग्ने अनि त्यसपछि माइक्रोमा काठमाडौँ जाने कुरा थियो तर कताकता मनमा डर थियो मुग्लिन चितवनमा पहिरो गएकोले समयमा घर नपुगिने हो कि भन्ने पीर पनि थपिँदै थियो । अवस्था तनावपूर्ण भएपनि आफूलाई सम्हालेर निर्णयमा त पुग्नु नै थियो ! हामीसँग थप खर्च गर्ने नगद नभएकोले म एटिएम (ATM) तिर लागे । पैसा निकालेर समिप भाईलाई बिस्तारै आउँदै गर है त भनेर भाइ-भतिज र म बोलेरो पार्कतिर लाग्यौं । मैले अगाडीको सिट कब्जा गर्ने हेतुले आफ्नो ब्याग बोलेरो को अगाडि सिटमा राखिहाले र त्यसको केही क्षणमै समीप भाई हस्याङ फस्याङ गर्दै मेरो नजिक आउँदै भन्यो; “दाई एउटा स्कार्पियो काठमाडौँ जाँदै छ र उस्ले मिलाएर लैजान्छ रे भन्यो !” भाग्यमानीको भूतै कमारो भनेजस्तो, के खोज्छस् कानो आँखो भो हामीलाई! मनमा सर्वजानिक गाडीमा चाँडो पुगिएला कि नाई ! आराम तरिकाले पुगिएला कि नाई ! यस्तै दोधारे तर्कना चल्दै थियो ! त्यस्तैमा ए.सी जडित स्कार्पियो पाएपछि अरु के चाहियो ? सार्वजनिक गाडीमा भन्दा चाँडो पनि भाडा पनि अपेक्षा भन्दा सस्तो, सार्वजनिक गाडीलाई २५०० बुझाउन भन्दा त स्कार्पियो २५०० दिनमै फाइदा थियो हामीलाई । त्यति भाडामै लिएर जाने सल्लाह भएपछि हामीले स्कार्पियो मा जाने निधो गर्यौ र बोलायौ तर स्थानीय यातायात व्यवसायीले गाह्रो बनाउने कुरा थाहा पाएपछि हामीले केही तलसम्म हिँडेर जानुपर्ने सुझाव आयो ! हामीले त्यसै गर्यौ ।
काठमाडौं फर्कदासम्म हामी स्कार्पियोमा चालक(महेश पाण्डे) समिप भाइ र म मनाङबाट काठमाडौँको लागि हिँड्यौ । मेंरो भाई र दुई भतिजाहरू फर्निचरको काम बचेको हुँदा उनीहरू उतै रोकिए । महेश गुरु पनि त्यत्तिकै रमाइलो हुनुहुँदो रहेछ। फोटो खिच्ने स्थानहरूमा बुझेर नै गाडी रोक्ने र आफू पनि फोटो खिच्ने हामीलाई पनि फोटो खिच्न प्रोत्साहन गर्ने । उहाँ पनि पहिलो पटक मनाङ्ग पुग्नुभएको हुनुहुँदो रहेछ त्यसैले पनि होला ठाउँठाउँमा रोकीरोकी भिडियो र फोटो खिच्ने काममा वहाँलाई नै चासो लागेको! मनाङबाट तलतिर झर्दै गर्दा हामीले तीनवटा टोयोटा ल्याण्डक्रुजर (Landcruiser) प्राडो भेट्टायौ | दुईटा प्राडो अगाडि एउटा पछाडि हामी हरियो प्लेटको स्कार्पियो बीचमा त्यो क्षण लाग्यो कि आज त साह्रै भिआइपी भयौं ! हामीलाई तीनवटा प्राडो को स्कर्टिङमा हिँड्न पाइएको छ भन्ने अनुभूति हुँदै थियो । सायद प्राडोको कार्यक्षेत्र त्यतै भएर हुनुपर्छ केही समयको अन्तरालपछि उनीहरू प्रोजेक्ट साइट तिर लागे र हामी हाम्रो गन्तव्यतिर! निरन्तरकाे दौड पश्चात बिहान ११ बजेतिर खाना खाने सल्लाह भयो । त्यहाँ भनेजस्तो ठाउँ नपाएपछि लमजुङ पुगेरै खाना खाने कुरा भयो तर लमजुङमा वाइपासबाट आउने हुँदा बजार साइटमा जाने मौका मिलेन ! हामीले सुन्दर बजार, पौदीमा सम्भावित खाना खाने ठाउँ खोज्यौ तर पाएनौ । त्यस बिचमा गाडीमा तेल भरिसकेको हुँदा सिधा डुम्रेमा पुगेर खाना खाने निधो भयो । सोही अनुसार डुम्रेमा पुगेर केही समयको होटल तलाश पश्चात चित्तबुझ्दो ठाउँ भेटियो । त्यहि खाना खाइयो । खाना खाइसकेपछि कि पैसा अनुसारको खाना भएन भन्ने निष्कर्ष आयो, समयको खेल र भोककाे मार लागेपछि के गर्नु के नगर्नु ? समयमै खानु त पर्यो। त्यसो नगर्दा टुरिस्ट गाडीलाई ठाउँठाउँमा खानाको सुविधा विशेष त गुरुहरूलाई हुने रहेछ तर भोक लागेपछि त्यो सुविधालाई बिर्सिदियौ । खाना खाइसकेपछि हामीले यात्रा पुन: सुरु गर्यौं । आबुखैरेनीसम्म त सहज तरिकाले पुग्यौ तर मुग्लिनको जामको असर त्यहाँसम्म आइपुगेको रहेछ । हामी पनि बाटो खुल्ने आसमा डेढ घण्टा जति बस्यौँ तर बाटो खुल्ने कतै छनक देखेनौं ! हामी नेपालीहरूलाई जहाँ पनि हतारो भनेझैं त्यो दृश्य त्यहाँ पनि देखिन्थ्यो । गाडीहरु दुई लेनमा बसिदिँदा फर्किन खोजेको गाडी एम्बुलेन्सलाई समेत बाटो पाइरहेको थिएन । करिब १५/२० मिनेट जति भोलुन्टियर काम गरियो र फर्किन खोजेको गाडी र एम्बुलेन्सलाई बाटो खुलाउन सफल भयौं । त्यसपछि खुल्ने छनक नदेखेपछि गोर्खा हुँदै काठमाडौँ पुग्ने निधो गर्यौ र फेरि आबुखैरेनी हुँदै गोरखातिर लाग्यौं ! जे हुन्छ राम्रोको लागि हुन्छ भनेझैं मेरो लागि चाहि यो घुम्ने अवसर हुने भो भन्दै मनमनै गदगद भइरहेको थिएँ । हाम्रो गाडीको एउटा चक्कामा हावाको कमी महसुस भइरहेको थियो र म चालकलाई अवगत गराउँदै थिए; “गुरु गाडी ब्यालेन्स भैरहेको छैन पहिला हावा हाल्ने काम गरौं।” वरपर हावा हाल्ने ठाउँ नै भेटिएन । करिब १५-२० किलोमिटरको दूरीमा हेर्दा पनि कहीं नाम निसान भेटिएन । एउटा चक्कामा हावा कमी भइरहेको बेलामा पछाडिको एउटा चक्का किला पसेर पञ्चर भयो । अब भएन त फसाद् ! त्यतिबेला घडीमा दिनको ४:४५ भइसकेको थियो । काठमाडौँ पुग्नु छ त्यो पनि नौलो बाटोकाे साहारा लिएर त्यसपछि छटपट लाग्न सुरु भो अनि गुरु र समीप भाइलाई चक्का बदल्नु भनेर म चाहिँ गुरुको तनाव कम गर्न भोला किन्न गए आफू नखाए पनि र खान नहुने भन्ने थाहा हुँदाहुँदा पनि कसैको तनाव कम गराउँछ भने किन नगर्ने भनेर तीनवटा भोला किनेर गुरुलाई दिए । मान्छेको आदत हो भोला देखेपछि गुरु खुस भइहाले अनि १० मिनेटमा चक्का पनि बदलियो । हामीलाई पछि थाहा भयो कि हामी गोर्खा हुँदै धादिङको मलेखु बजार पुग्ने रहेछौँ । हामी हिँड्ने राजमार्ग या रोडलाई आरुघाट (Aarughat Road) भन्दो रहेछ । त्यसपछि बल्लतल्ल हावा भर्ने ठाउँ भेटायौं । राहतको साँस फेर्दै अगाडि लाग्यौं । गोर्खा जिल्लालाई छोड्ने बेलामा बेलुकाको ६ बजिसकेको थियो । त्यसको अर्थ अब हामी गाडीको उज्यालोमा दौडिरहेका थियौँ । बाटो अलमल भएपछि ठाउँ ठाउँमा सोधिरहेका थियौँ भने हामीले गुगल नक्साको साहारा पनी लिइरहेका थियौँ । केही समयको दौडाइपछि एउटा पुल पार गर्यौं जुन पुलले गोर्खा र धादिङलाई छुट्टाउने काम गर्दो रहेछ | गोरखामा त्यो ठाउँको नाम थाहा भएन तर केही किलोमिटरसम्म मैले मुसलमानको बस्तीदेखि पसलहरू पनि सलेह नामको पसल मुस्लिम समुदायले प्रयोग गर्ने शब्दहरूमा …. पाएपछि थाहा पाए यो पनि राजाको पाला मै बसाएको दोस्रो मुसलमान बस्ती भन्ने थाहा पायौ । धादिङ लाग्दै गर्दा हामीले स्थानीयलाई सोध्यौँ; “यो बाटोले काठमाडौँ पुर्याउँछ त ?” त्यहाँ कसैले जवाफ दिनुभयो; “अगाडि-अगाडि एउटा प्राडो गाडी गएको छ त्यसलाई पिछा गर्नुहोला !” हामीले सोच्यौं प्राडो गाडी होला सँगै जानुपर्छ तर आश्चर्य के थियो भने केहि समय पश्चात त्यो गाडी भेट्यौ तर रमाइलो कुरा त्यो गाडी Landcruiser प्राडो नभएर भैँसीको पाडो बोकेको टाटाको पिकअप रहेछ ! बल्ल बुझ्यो स्थानीय व्यक्तिले प्राडो हैन पाडो गाडी भनेको रहेछ । गुगल म्याप मैले हेरिसकेको थिएँ । त्यसैले बेलाबेलामा गुरुलाई यता उता भन्दै थिए र एक ठाउँमा बायाँभन्दा भन्दै अलि अगाडि गाडी बढ्यो र म्यापले अर्को बाटो देखायो जुन एक दुई किलोमिट को फरक थियो । हुन्छ नि त भनेर अगाडि बढ्यो तर नयाँ बाटो पुष्पलाल मार्ग भएकोले बाटो साह्रै अप्ठ्यारो थियो । अब हामी मेनरोडमा पुग्न २ किलोमिटर जति थियो हाम्रो बाटोमा पहिरो तगारो भएर बसेको पायौ त्यसपछि बल्ल थाहा भयो किन सडक सुनसान रहेछ ! पहिरोले सडक छेकेपछि अरु सवारी साधनहरू नचलेका रहेछन् । अब फेरि फसाद् भो ! बाटो ओरालोमा छौं ! अगाडि जाने सुविधा छैन । त्यहाँ बाहिर वरिपरि बस्ती पनि छैन ! रात्रिको निष्पट्ट अन्धकार छ ! हाम्रा महेश गुरु अलि धेरै नै अनुभवी चालक रहेछन् र जसो तसो यहाँबाट हामी फर्किन सफल भयौ ! अन्तत: केही समयको प्रयासपछि हामीले आरुघाट (Aarughat Road) फेला पार्यौं ! सायद आफू ट्रेनर भएर पनि हो कि मेरो काम गुरुलाई मोटिभेटेड राख्नु थियो र त्यही नै गरिरहे । आरुघाट रोडबाट करिबकरिब ४०-४५ किलोमिटर यात्रा पछि हामी धादिङ बेसीको बजार आइपुग्यौँ र फेरि गजबको संजोक जुध्यो ! त्यो थियो बिहानको त्यही तीनवटा प्राडो गाडीहरू अगाडी र पछाडि। त्यो संयोग पुन: मलेखुसम्म पुगेपछि सकियो । त्यस अवसरले फेरि आफूलाई भि.आई.पी. महसुस गर्ने मौका मिल्यो ! मलेखु पश्चात तलतिरबाट कुनै गाडी आएको देखिएन । माथितिरबाट पनि कुनै गाडी नआएकोले राजमार्ग (Highhway) खाली थियो । सडक पुरा सुनसान मसानघाट जस्तै प्रतीत हुन्थ्यो ! त्यस्तो हाइवेमा दौडिन पाउँदा यस्तो लाग्यो कि आज मेरो भीआईपी बन्ने दिन रहेछ । मलाई आफू भीआईपी पनि महसुस किन नहोस् अगाडि जिपमा समिप भाइ अनि गुरु हुनुहुन्थ्यो र पछाडि म एक्लै थिएँ । मलाई यात्रा को दौरानमा एउटा वास्नाले भने अलि डिस्टर्ब गर्यो । त्यो हो महेश गुरुले बेलाबेलामा खाने गुट्खा पराग, त्यो बाहेक अरू सबै अद्भुत थियो र आनन्दित रह्यो । बेलुकाको ८ बजिसकेको थियो त्यसैले होला घरबाट हामी सबैलाई फोन आउन थालेको थियो । निरन्तर फोन आउनुमा पहिरो र जामको खबरले सहयोग गरेको हुनुपर्छ । तर हामीले भनेका थियौ कि हामी हरियो प्लेटको गाडीमा छौं र जसरी पनि काठमाडौँ पुग्छौँ, केही धन्दा मान्नुपर्दैन । गल्छी बजार आइपुग्दाकरिब साढे ८ बजेकाे हुनुपर्छ । त्यहाँ पुगेपछि मलाई कफी खान मन लाग्यो र चालकलाई भने गुरु म पैसा तिर्छु तपाईँ चिसो लिनुहोला म कफी लिन्छु ! त्यसपछि हामी पसलमा गयौं तर कफी पाइएन तर गुरुले एक बोतल मिनरलवाटर एउटा गोर्खा क्यान बियर लिए । म पनि केही त खान्छु भनेर चोको पाई एउटा खाएर पैसा तिर्ने बेलामा पाे म झल्यास भएँ, हैट! मैले नै पो गुरुलाई बियर खान मोटीभेट गइरहेको रहेछु जस्ले गाडी चलाउनुपर्ने छ । त्यसपछि बल्ल होस पाएर सोधेँ; “गुरु बियर खाएर चलाउन सक्नुहुन्छ त ?” जवाफ आयो; “एउटा जाबो क्यान बियरले केही हुन्न म ६-७ वटा बियर खाएर चलाउँछु भने ! मेरो कर्तव्य ठानेर भनें; “त्यही पनि भने खाएर नचलाउनु है गुरु !” बियरको कारणले त हैन होला सायद रोड नै खाली भएर होला गल्छीबाट धार्के हुँदै सितापाइला आआइपुग्दा जम्मा एक घण्टामा पुगेछौं ! हामीले बाटोमा ट्राफिकलाई बाटो खुल्यो त भनेर सोध्दा, भोलिमात्रै खुल्छ भन्ने जवाफ आयो ! त्यसपछि लामो सास फेर्दै भन्यौ; “धन्न हामी भाग्यमानी रहेछौँ ! महेश जस्तो गुरुले चलाएको हरियो प्लेटको स्कारपियो पायौ ।” सीतापाइला चोकबाटबाट अन्तत: म साँझ ९:३० बजे सितापाइला मन्दिर छेउ जहाँ हाम्रो निवास छ, त्यहाँ ओर्लिएँ । तिलीचोको अद्भुत यात्राको सकुशल आनन्द लिँदै घरमा पुगेँ । यो यात्रामा मसँग अर्को अविच्छिन्न साथी पनि थियो त्यो हो उज्जवल थापाकृत ‘किन नेपाल(Why Nepal)’ भन्ने पुस्तक । यो यात्रामा यसलाई आध्योपान्त पढ्ने मौका मिल्यो । जसमा कलेज समाप्त हुनु अघि के-के गर्नुपर्छ भन्ने सल्लाह सुझाव समेटिएको थियो । जस अन्तर्गत निम्न कोष्ठकमा राखिएका विषयवस्तुहरू समावेश छन् । [ Intern, Perform, Learn, Give, Travel, Mentor, use the right to information, Build a club, Fail, Play, Start, Show grit. ] यावत उल्लेखित विषयको ज्ञानले गर्दा कलेज पछिको जीवन सहज बनाउँछ । उद्यमशीलताले नै देशलाई विकास को मार्गमा डोहोर्याउँछ र हरकोही उद्यमी बन्नुपर्छ भन्ने थियो । त्यस्ले गर्दा रोजगारीको सिर्जना र समाजमा धनी र गरिबको दुरी घटाउने काममा सहयोग पुर्याउँछ । समाजमा इन्जिनियरहरूले व्यवसाय या उद्यमी बन्नुपर्छ भन्ने सन्देश पनि राम्रो लाग्यो । त्यसो हुनुको प्रमुख कारण उनीहरूले समस्यामा नै सम्भावना देख्ने गुण प्रधान हुन्छ । किन नेपाल(Why Nepal)का लेखक उज्जवल थापा दाई मेरो राजनीतिक गुरु हुनुहुन्छ जो कोभिड-कालमा असमयमा नै हामी सबैलाई छोडेर परलोक जानुभयो ! यो मेरो तिलिचो यात्रा पनि उज्ज्वल दाइले भन्ने गर्नुभएको “घुम्नुपर्छ, त्यहाँको कुरा बुझ्नुपर्छ,” सुझावबाट प्रेरित भएर गरेको भन्दा फरक नपर्ला ! मेरो यो अद्भूत तिलिचो यात्रा अनुभूति र आफूलाई भाग्यमानी पाएको पललाई पुन: एकपटक सम्झँदै यहाँहरूलाई पनि नेपालको यस्तै रमणीय ठाउँहरू वर्षमा एकपटक घुम्न आग्रह गर्छु । यहाँसम्म पढ्दै आइपुग्नु भएकोमा तपाईं मेरो धन्यवादको पात्र हुनुहुन्छ । यहाँलाई पनि साधुवाद । देश डुल्दै-घुम्दै गर्नुहोला । नेपालको जय होस् । इतिश्री ।