कैलाश देखि हेटौडासम्मको पैदल यात्रा
-आँट, सकारात्मक सोच र हौसलाले सम्भब बनाएको ६० किलोमीटर

पैदल जाने सोच अङ्कुरण भएको म जन्मेको पकनी हो, भने बाल्यकालमा खेलेको, हिँडेको ठाउँ चाहिँ कटहरे हो। यी ठाउँहरू हाल कैलाश गाउँपालिकाको ५ र ६ मा पर्छ तर अगाडि चाहिँ गोगने गा.वि.स. ८ र ३ मा पर्थ्यो जस्तो लाग्छ। मैले गाउँ छोडेको २०५० साल तिर नै हो। गाउँ छोड्दा मेरो उमेर १० वर्षको हुनुपर्छ। गाउँ जाने भनेको कि त चाडपर्व आउनुपर्थ्यो कि केही विशेष काम आइपर्नुपर्थ्यो। म बाहेक परिवारका अन्य सदस्यहरू भने गाउँमा नै हुनुहुन्थ्यो। सायद सानैमा काठमाडौँ आएकोले होला आफन्त र रितिरिवाजबाट अलि टाढा भएको हो कि जस्तो लाग्छ। गाउँमै हुँदा पनि गिरी, पुरी, पौडेल,थापा, अधिकारी, सुवेदीको बीचमा हुर्केकोले होला तामाङ भाषामा बोलचाल गर्न मलाई समस्या नै छ। जस्तो संगत त्यस्तै फल भने जस्तै काठमाडौँ आईयो नेवार समुदायको बीचमा बसियो जसले गर्दा नेवारी बोल्न र बुझ्न समस्या भएन। म काठमाडौँ भएपनि बेलाबेलामा खबर कसै न कसैबाट आइपुगिरहन्थ्यो। हाम्रो परिवारमा ६ जना छोराछोरीहरूमा म तेस्रो नम्बरमा पर्छु भने छोराहरूको गन्तिमा दोस्रोमा। विवाहको मामलामा भने छैठो नम्बरमा पर्छु। सायद गाउँघरमा छिटै विवाह गर्ने माहोल भएर होला म र कान्छो भाइ बाहेक अरुहरुले २० वर्ष अगाडि नै विवाह गरिसकेको हुनुपर्छ। मेरो दाई त ४० नपुग्दै बाजे बनिसक्नुभको जबकि आजभोलि ४० भित्र बाबु बन्ने कसरत गरिराखेको भेट्छौं। दाइलाई भाग्यमानी नै भन्नुपर्छ। आफ्नै र कान्छो भाईको विवाहबाहेक अरूको विवाह कहिले र कोसँग भयो भन्ने कुरा विवाह पछि मात्र थाहा भएको हो। साटसुट विवाह भएर वा अन्य कुनै कारण म भने ति विवाहहरूमा कतै पनि देखा परिएन। पछि थाहा भयो दुईजना भाईहरु (साईला र काईंला) को विवाह चाँही कैलाशकै मर्याङकोट भन्ने ठाउँबाट दुईजना नानीहरू बुहारीको रुपमा भित्रिएको, पहिला साईलाले दिदि त्यसपछि भाईले दाईको सालीलाई घरमा स्वागत गरेको रहेछन्। कटहरेबाट हिँडेर जाने बाटो रहेछ मर्याङकोट सम्म, जुन ४/५ घण्टा लाग्ने रहेछ। भाइ बुहारीहरू हिँडेर जाने गरेको कुरा थाहा थियो र मलाई पनि थाहा भएको बेलादेखि नै त्यो बाटो हिँडेर जाने रहर थियो तर समय परिस्थिति मिलिरहेको थिएन, २०८२ तिहारले यो अवसर जुराईदियो । आफन्तको स्वर्गवासले गर्दा परिवारमा तिहार थिएन त्यसैले यही हो मौका जस्तो लागेर तयारीमा जुटे र यात्राले सार्थकता पाउने लगभग पक्का जस्तो भयो।
यात्राको सुरुवात प्रारम्भिक योजना आईतबार वा सोमबार हेटौडा पुग्ने र हेटौडादेखि कटहरे सम्म पैदल जाने थियो। तर केही कारणवस त्यो योजना मुताविक काम अगाडि बढाउन सकिएन। अब के गर्ने भन्ने दोधारको बीचमा नाताले छोरी व्यवहारले साथी (सोनिया मोक्तान)लाई लक्ष्मी पूजाको बेलुका WhatsApp मा कल गरेर घर तिरको माहोल बुझ्ने प्रयास गरे। उनी तेही दिन हेटौडाबाट घर (पकनी) पुगेको हुनुपर्छ। प्राय तिहारमा घर गइराख्ने मलाई कहिले हिँड्नुहुन्छ, गाउँको लागि भन्ने प्रश्न मेरो लागि नौलो रहेन। मैले पनि भनिदिए यसपटक टिका पनि छैन मेरो आउने र नआउनेमा ५०-५० को आंकडा छ भनिदिए। उताबाट भने ५० होइन १०० बनाउनुस् भन्ने आशय बुझे। मनमनै योजना बुन्न थाले हेटौडाबाट सुरु गर्ने भनेको यात्रा अब पकनीबाट सुरु गर्दा कस्तो होला? चाडपर्वको बेलामा मनभित्र पौडिएका ती योजनाहरूलाई आकार दिन मलाई दुई कुराको आवश्यकता थियो, जुन पहिलो गाउँसम्म पुग्न बसको टिकेट र गृहमन्त्रीको स्वीकृति। अब म बसको टिकेट बुझ्न भनी मङ्गलबार बिहान कलङ्की बसपार्कमा पुगेर सोधपुछ गरिहाले। स्वभाविक जवाफ आयो चाडपर्वमा एक दिन अगाडि आएर कहाँ टिकेट पाइन्छ? भोलि बिहान आउने उभिएर जाने, मैले पनि बुलेटको गतिमा उत्तर दिइहाले। उभिएर जाने भए म आज किन आउँथे र! मेरो भाग्य भनौ या संयोग टिकेट काउन्टरमा लेनदेन गर्ने व्यक्ति पनि (नारायण मोक्तान) दाजु पर्नुभएछ। फेरि मैले शब्दको दनक पाईहाले दाजुभाई भएपछि फोन गर्दा पनि पुग्थ्यो त किन यहाँसम्म आइरहनुपर्थ्यो? खै कसरी सम्भव भयो केही समय अघिसम्म छैन भन्ने उत्तर आएकोमा दाजुले मेरो पुरा नाम भन्न सुझाउनु भयो र मैले त्यही गरे अन्तत मैले टिकेट पाए। दङ्ग हुँदै अब श्रीमतीज्यूको स्वीकृति लिन स्कुटरको कान अलि बेस्सरीनै बटारेर घरतिर (सितापाईला) तिर लागे। प्राय केटाहरू श्रीमतीसँग डराउँछन् भन्छन् तर म चाहिँ डराउँछु पनि डराउन्नपनि। यसपटक भने मनको कुनाकन्तरामा हो कि होइन जस्तो डरले लुकामारी खेल्दै थियो। टिकेट लिन जानु पूर्व नै जानकारी दिएकोले हुनुपर्छ मैले भन्नु अगाडि नै श्रीमतीज्यूबाट नुनचिनीको घोलको स्वादमा प्रश्न आयो टिकट भयो त? मैले पनि आफ्ना कोदाली जस्तो दुईवटा दाँत देखाउँदै भने भयो। बुधबारको दिन बिहान ६ बजे उठे र बिहान नित्यकर्म गरिसकेपछि सामान पोका पार्न थाले। सकेसम्म चाहिने सामानहरू नछुटोस् भन्नेमा सजग थिए। पौने ९ को बस थियो त्यसैले सीतापाईलाबाट ८ बजे निस्किनु त जरुरी नै थियो। खाना खाएर विदावारी लिएर के निस्कन लागेको छोरीले पिछा गरिहाल्यो। ८:१५ भइसक्यो कलङ्कीसम्म जाने सवारीको व्यवस्था पनि भएको छैन, छोरीले पनि पिछा छोडेको छैन। छोरीसँग ४ वटा ओरियो बिस्कुट किनिदिने शर्तमा कुरा मिल्यो र त्यसै बखत स्कुटर अफलाइन मेरो गन्तव्यमा पुर्याउन राजी भयो र समयमा नै बसपार्क पुगे। तर फसाद बाटो बीचमा पुगेर मोबाईलको चार्जर छुटेको पत्तो पाए पनि फर्किने समय नभएकोले बिना मोबाइल चार्जर भगवान भरोसा भन्दै अगाडि बढे। बसमा यात्रुहरू कोचिएको देखेर सानोमा आमाले गुन्द्रुक बनाउँदा सागपात भाँडामा कोचेको याद आयो। सिटमा बस्ने अवसर मिले पनि त्यति सजिलो र सहज तरिकाले गन्तव्यसम्म पुग्न सकिएन। लगभग ७ घण्टाको यात्रा मैले ५ भन्दा बढी बच्चाहरू र केही झोलाहरु पालैपालो गरी सम्हाल्ने मौका पाए। ७ घण्टाको यात्रापछि (कृष्ण मुक्तान )दाईको पसलमा पुगेर छोरीहरू गङ्गा र मुनालाई आश्चर्यचकित बनाए। आश्चर्यचकित हुनु स्वभाविक थियो किनभने दाइको परिवार लगायत अन्य कसैलाई म यात्रामा रहेको जानकारी गराइएको थिइन। अकस्मात कसैलाई भेट्दा आश्चर्यचकित हुनु त स्वभाविक कुरा भइनै हाल्यो। म आफू त खुसी नै थिए भने परिवारका अन्य सदस्यहरू पनि मलाई देखेर खुसी देखिनुहुन्थ्यो। बेलुका सेल पकाउने कार्यक्रम भयो र त्यही मौकामा चौका हान्न सेल पकाउँछु भन्दै छोरीहरु गंगा र सोनिया अगाडि आए अनि आमाको ठाउँ पालैपालो कब्जा गरे तर यो कला धेरै बेर टिक्न सकेन किनकि त्यो कलाले सेल रोटीको अनुहार धेरैनै बिगारीसकेको थियो। भाउजुको मेहनत र मिठो सेलको लागि पुरस्कृत गर्न मन लाग्यो र दुई बोटल बार्हसिंगे बियर आफैंले गिलासमा भरेर रसपान गर्न अनुरोध गर्दै बियरले भरेको गिलास अगाडि सारिदिए। त्यसपछि खाना खाएर राम्रो सपना र मिठो निन्द्राको अपेक्षा लिएर सयन कक्षतिर लागे।
पैदल यात्राको सुरुवात बिहीबार भाईटिकाको दिन हाम्रो परिवारमा टिका नभएकोले बिहानको खाना समयमानै खाएर पैदल यात्राका लागि आफूलाई तयार गर्न लागे। अघिल्लो दिन नै कान्छो भाईलाई साथमा हिँड्न घर कटहरेबाट पकनी बोलाएको थिए। अब आईपुग्ला भन्ने समयमा दाईको मोबाईलमा बजेको घन्टी मेरो कानमा ठोकिन आइपुग्यो किनकि त्यो घन्टी कान्छो भाईले बजाएको थियो। अन्तत कान्छो भाई साथमा नजाने र साथीको रुपमा सानी ६ वर्षकी छोरीलाई पठाएको खबर आयो। छोरी आउँदासम्म यता दाइका छोरीहरु (सोनिया, गंगा र मुनाको )विभिन्न पोजमा फोटो र भिडियो बनाउनका लागि सक्ने सहयोग गर्नतिर लागे। केही समयको पर्खाइपछि छोरी अमृता लिएर काईला भाई (नाताले ज्वाई) आउनुभयो। छोरीलाई देख्ने बित्तिकै उ मेरो साथमा जान नसकिने देखेपछि छोरीलाई घर फिर्ता लिएर जान सुझाए। अब साथमा जाने साथीको खोजीमा कुरा अगाडि बढाए जस्मा दाईका छोरा र छोरीहरू नै उत्तम विकल्प थिए। भतिज (छोरा) सुवासले नजाने कुरा बताएपछि गंगा र मुनालाई प्रस्ताव गरे, त्योपनि सफल नभएपछि सोनिया छोरीलाई अन्तिम विकल्पको रुपमा भएको जानकारी गराउँदै साथदिन सुझाए। उनले हुन्छ भनेपछि बल्ल मेरो यात्राले रिबन काट्ने निश्चित भयो र उनकै आगुवाईमा त्यस दिनको यात्रा लगभग १२ बजेर १५ मिनेटतिर सुरु भयो। त्यस दिनको यात्रामा दुईजना आफन्तहरू एकजना फुपु (चामाखर्कमा) र एकजना दिदी पकनी बेसीमा भेट्ने लक्ष्य लिएर हिँडेका थियौ। सोनिया छोरीको अगुवाइमा पैदल मार्ग हुँदै फुफुलाई भेट्ने लक्ष्य लिएर चामाखर्कतिर लाग्यौँ। सायद रोडको उपस्थितिले होला पैदल मार्ग त्यतिको चल्दो रहेनछ। कम मान्छेको आवतजावतले होला बाटो वरिपरि र बाटोमा नै उम्रेका झारपातले बाटो पहिल्याउन हामीलाई हम्मे हम्मे पर्यो, अझ खोलामा पुगेर त ५/ १० मिनेट बाटो खोज्नमा नै हाम्रो समय खर्च भयो होला। १ घण्टाको हिँडाईपछि हामी चामाखर्क पुग्यौँ। बाटोमानै दाईको ससुराली सोनियाको मामा घर मैले पनि चिनेको हिसाबले नमस्ते दिने र लिने निर्णय भएसँगै मामा घरमा पुग्यौ र केही समयको बसाई र नमस्कार आदान प्रदानपछि फुफुको घरतिर लाग्यौ। केही कोसेली र नगद लिएर फुपूको घरमा पुग्यौँ। कोसेली र नगद हस्तान्तरण र केही बेर भलाकुसारी गरिसकेपछि हामी दुई अर्को दिदी भेट्न भनि बेसीतिर लाग्यौ, ठाडो ओरालोपछि खोलाको तिरमा पुग्यौ र केही बेर फोटो र भिडियो खिच्ने काम गरियो। दिदीलाई भेट्नु अगाडि दाईको (कृष्ण मोक्तान) मूल घरमा पुग्यौ जहाँ तीनवटा बाख्रा हरुले मानौँ हामीलाई स्वागत गर्न बसे जसरी एकै आवाजमा म्या म्या गरे। वास्तवमा ती बाख्राहरू खाना दिन्छन् कि भन्ने आशाले कराएका रहेछन् । हामीले पनि त्यहाँ रहेको फर्सीलाई टुक्रा पारी पानीसँग मिलाएर दिएम र गोठ सँगै रहेका टाकी घाँस काटेर दिएपछि दिदीको खोजीमा लाग्यौ तर दुई घण्टा जतिको सोधखोजका बावजुद हामीले उहाँलाई भेटाउन असमर्थ भयौँ। निराश भएर म आफ्नो घर कटहरेतिर लागे भने छोरी सोनिया पसल घरतिर दाईसँग लागिन्। हामी छुटेको गन्तव्यबाट कटहरे घर ३/४ किलोमिटर होला जहाँ एउटा खोला तरेर जानु पर्ने थियो। खोला तर्ने ठाउँमा आईपुग्दा देखे पानी अलि धमिलो छ। त्यसमा पनि भर्खरै दुवाली थुनेर पानी जमेर दह बनेको अवस्थामा त्यति गहिरो छैन होला भनी पानीभित्र पसे। घुँडासम्म पानी पुग्ला भन्ठानेको कम्मरभन्दा माथि पुग्यो। अब पर्यो फसाद कम्मरमुनि सम्पूर्ण भाग भिज्यो मोबाइल, पर्स पूर्णरुपमा भिजे water proof भएकोले मोबाइल केही हुन्न भन्नेमा ढुक्क थिए र भिजेको कपडालाई सकेजति निचारनचार पारेर घर पुगे। साँझ परिसकेकोले होला फोटो खिच्नेतिर ध्यान पनि गएन र हिँड्नु अगाडि भतिजाको चार्जरले फुल चार्ज गरेकोले चार्जरको जरुरी परेको थिएन। त्यसैले त्यस दिन रातको खाना खाएर कानको सफाई र औषधि गरी सुत्न तिर लागे।

मोबाईलको अन्धोपनले तर्साएको त्यो बिहानी कार्तिक ६ गते शुक्रबार योजना अनुसार कटहरेदेखि मर्याङकोट सम्मको यात्रा पूरा गर्ने, त्यो घनघोर जङ्गल, भिर, पखेरोको बाटोमा एक्लै जाने कुरा नै भएन त्यो पनि आफू कहिल्यै नगएको बाटो त्यसैले अघिल्लो दिनबाटै साथीको खोजीमा म लगायत मेरा आफन्तजनहरु लागेका थिए। यदि कोही नभेटिए के गर्ने भन्ने वैकल्पिक योजना भने थियो, त्यो थियो जङ्गल भिर पखेरोको बाटो भाई र भतिजाहरूले पार गराउने र त्यसपछिको बाटो आफैले पुरा गर्ने। बिहानको ८ बज्दै थियो त्यसै बखत बलराम बाजेको फोनबाट भाईको फोनमा घन्टी बज्यो र थाहा लाग्यो पैदल जाने साथीहरु छन्, त्यसपछि कुरा अझ राम्रोसँग बुझ्न भनी हामी बलराम बाजेको घरमा पुग्यौ, अनी थाहा लाग्यो सागीने भन्ने ठाउँमा मर्याङकोटको वाड नम्बर १० का वडा सदस्य दिनेश थिङ र परिवार त्यही पैदल मार्ग भएर जाँदै हुनुहुन्छ। अब मलाई पुग्नुपर्ने भयो सागिनेमा र सुझाव आयो त्यहाँसम्म बाईकमा जाने तर म भने बाईकमा नजानेमा थिए, बीचको विकल्पमा हामीले जाने निर्णय गर्यौ र खानपिन र सर सामान प्याक गर्न घरतिर लाग्यौ। खान तयार हुन केही समय लाग्ने भएपछि आफूलाई फर्सीको बिया मनपर्ने भएर बिया जम्मा गर्नतिर लागियो। मोबाईलको चार्जर नभए पनि छिमेकी भाई (विजय)सँग मिल्ने चार्जरको सहायताले बिहानै चार्ज गरिसकेको थिए। अब लौ अब जानु अघि सेल्फी लिउँ भनेर क्यामरामा आँखा लाउँदा त सेल्फी क्यामेराको अनुहार अरुबेला भन्दा भिन्न देखे त्यो हुनुमा बेलुका खोलामा डुबेको असर भन्नेमा दुईमत रहेन। प्रस्टनै पानीले भरिएको देखिन्थ्यो, तैपनि मोबाईबाट कल जाने र आउने काम भैरहेको थियो। अब भयो तनाव दुई लाखको मोबाईल, घुम्न हिँडेको, फोटो खिच्नुपर्ने अब के गर्ने पछाडिको क्यामेरा हेरौं त्यो पनि पूरा पानीले छोपेको अवस्था अब पानी सुकाउनुपर्छ भनेर घाममा राख्ने काम गरियो। अब स्विच अफ गरेर सुकाउन पनि भएन किनकि अन गर्ने स्विचले काम गर्न छोडिसकेको थियो। क्यामेरा बन्ला र स्विच अन बटनले काम गर्ला जस्तो लागेन र बिना सेल्फी र फोटो अगाडि बढ्ने निर्णय गर्यौ । दुई लाखको मोबाईल अन्धो भएको त्यो समय ममा के बित्यो होला तर पनि एउटा लक्ष्य लिएर हिँडेपछि पूरा गर्नुपर्छ भन्ने सोच र यस्तै वाधाहरूले अझ यात्रालाई यादगार बनाउँछ भन्दै आफूलाई सान्त्वना दिँदै मोबाईलको अन्धोपनलाई बिर्साउन खोजे तर कहाँ सकिन्थ्यो र!
व्यर्थको दुई घण्टा कुराई। विजय भाई त्यही दिन काठमाडौँ फर्किँदै थियो, त्यसैले उनको चार्जर मलाई दिन र काठमाडौँ गएर घरबाट मेरो चार्जर लिनलाई भने। चार्जरको समस्या हल भएपछि हामी (डिले भाई, काईला भाई र निरञ्जन भतिज) कागुने भन्ने ठाउँसम्म पुग्ने र सागिनेबाट आउँदै गरेका साथीहरूलाई भेटेर उहाँहरुसँग म अगाडिको बाटो लाग्ने योजना अनुसार हामी कागुने पदम दाईको घरमा पुग्ने र कुरी बस्ने भयो। यात्रा सुरु भयो घरबाट हामी (म र भाई) निस्केकोमा अलि माथि पुगेपछि निरञ्जन भतिज र अलि माथि पुगेपछि काईला भाई (नाताले ज्वाई ) भेट्यौ र मलाई कागुनेसम्म छोडेर उनीहरू फर्किने कुरा भयो। काईला भाई खाना खाईरहेको समयलाई सदुपयोग गर्दै त्यही माथिल्लो घरमा रहनुभएको काईला भाइकै हजुरआमा जो ९२ वर्षको हुनुहुँदो रहेछ उहाँलाई भेट्न भनी भान्जीलाई लिएर थोरै उकालो लागे। आमालाई देखेपछि ५० रुपैयाँ भेटी राखी ढोगे, बुढाबुढी भनेका भगवानका रूप हुन भन्ने विश्वासले बुढी आमाको आशीर्वाद लिएर त्यहीबाट हामी चारजना कागुने सम्मको यात्रामा निस्क्यौ। लगभग १ घण्टाको हिँडाईपछि हामी कागुनेमा पुग्यौ। कागुने सम्मको यात्रामा म भने आफ्नो बाल्यकालको स्मरण गर्दै दङ्ग परिरहेको थिए किनकि यो बाटोको जङ्गलमा म र मेरो साथीहरुले रमाईलो समय बिताएका थियौ। स्कुलमा पढ्न मन लागेन त्यही जंगल, काफल पाक्यो त्यही जङ्गल, कटुस टिप्न, गुराँस टिप्न, स्कुलमा हलुवा पकाउन दाउरा खोज्न, आच्ची, सुसु गर्न आदि इत्यादि। १०/१५ मिनेटको कुराईपछि हामीले मेरो सम्भावित यात्राको साझेदारहरूलाई फोन गर्न थाल्यौ। सोध्यौ कति समयमा पुग्नु हुन्छ? जवाफ आउन थाल्यो एकैछिन, त्यो एकैछिन २ घण्टा भयो तर आएन, यसरी त म उज्यालोमा आफ्नो गन्तव्यमा पुग्न सकिन्न भन्ने लाग्यो र दाजुभाईको सल्लाह पछि भाईको समूहले मलाई आमडाँडासम्म पुर्याउने त्यसपछि म एक्लै अगाडि बढ्ने किनकि त्यो सम्भावित टोलीको भर छैन। घरमा कोही नभएको र काम भएकोले काईला भाई कागुनेबाट फर्किने भयो। हामी तीनजना अगाडि बढ्यौँ तर समस्या बाटो तिनै जनालाई थाहा नभएको र सोधौँ भन्नका लागि मान्छेहरू वरिपरि भेटाउनै गाह्रो। जहाँसम्म थाहाँ छ त्यहाँसम्म जाने सल्लाह अनुसार हामी थाक्ले भन्ने ठाउँसम्म पुग्यौ र त्यहाँका स्थानीयलाई सोधपुछ गर्यौं। स्थानीय सानो भाईहरुले हामीलाई बाटो पहिल्याउन केही समय सम्म संगै हिंडेर साथ दिए र हामीलाई अफ्ठेरो पर्न सक्ने दुरी कटाईदिएपछि उनीहरु फर्के। पैसा, खाजा दिन्छु हामीलाई जंगलपार गराएर बस्तीसम्म पुर्याउन अनुरोध गरे पनि भाईहरूले मानेनन् सायद टाढा भएकोले होला। त्यो बिना स्वार्थको सहयोगको लागि हामी ती भाईहरू प्रति आभारी छौं। सायद बाटोको बीचतिर होला हामीले डबल झरना (महाभीर खोला ) भेट्टायौ। फोटो खिच्ने मन त थियो तर अन्धो मोबाईलले अब के गरोस् तैपनि भतिजलाई उसको मोबाईलबाट खिच्न सुझाए। जंगलको बीचमा अर्को समस्या आइहाल्यो त्यो थियो बाख्राको पाठी जुन आफ्नो बथानबाट छुटेर भौतारी रहेको रहेछ र हामीलाई देखेपछि हाम्रो पछि लाग्यो। जति जाऊ र झटारो हान्दा पनि मानेन, लगभग पाँच किलोमिटर जति हाम्रो पछि आयो र हामीले जुक्ति लगाएर छुट्कारा लियौ। पछि भाईलाई फर्किने बेलामा भेट्टायो भने ठाउँमा पुर्याइदिनु है भनेको थिए त्यसै गरेछन्। लगभग डेढ घण्टाको पैदलपछि हामी पुग्यौ आमडाँडा र त्यही अड्कियौ कारण कुन बाटो जाने? त्यसपछि सम्भावित मान्छेहरु जसले बाटो सुझाउन सक्नुहुन्थ्यो, उहाँहरुलाई फोन गर्नतिर लाग्यौ तर जंगलको बीचमा नेटवर्क पनि राम्रो नआउने तैपनि बल्ल बल्ल थाहा लाग्यो सिधा तल जाने बाटोले रोडमा पुर्याउछ। भाई र भतिजले मलाई रोडसम्म पुर्याउने र उनीहरु फर्किने सल्लाह भएअनुसार तलतिर लाग्यौ । रोडमा त पुग्यौ तर अझै पनि हामी दोधारमा थियौ, त्यसैले वरिपरि गाउँका मान्छे भेटिन्छ कि भनेर ३६० डिग्रीमा टाऊकोलाई घुमायौ। अलि पर मान्छे बारीमा काम गरिरहेको देखेपछि त्यतै लाग्यौ र सोधखोजपछि सही बाटो कुन हो भनी पत्ता लगायौ। अब भाई र भतिजासँग छुट्ने समय आयो जुन बेला ३:४० भईसकेको थियो। छुट्नु पूर्व बाटोमा गरेका कुराहरूलाई फेरि दोहोर्याउने काम गरे र भाईलाई बेलुका घरमा पुगेर चिसो खान भनी १००० रूपैयाँ दिए। अर्को वर्ष जुठे मुक्तान स्मृति कप दोस्रो आयोजना गर्न र त्यसमा ५०००० रुपैयाँ, रेफ्रीको खर्च सहयोग गर्ने जिम्मा आफूले लिने वचन दिए।

एक्लो यात्रा साथमा बासको लठ्ठी र ब्याग <बाटो पक्का भईसकेपछि भतिजबाट ब्याग लिए र भिरे। अघिसम्म एउटा लठ्ठीको सहयोगमा हिँडिरहेको म ब्यागको भारी आएपछि भने हिँड्ने गतिमा कम हुनु त स्वाभाविक नै थियो। रोड घुमाउरो भएकोले सिधा तर १० मिनेट जतिको जङ्गलको बाटो सुझाएकोले त्यसै गरे। १० मिनेटको बाटो भएपनि खतराको कमी चाहिँ थिएन। बल्ल बल्ल मलाई गन्तव्यमा पुर्याउने रोडमा पाईला टेके। रोडै रोड जाँदा गन्तव्यमा पुगिन्छ भन्ने थाहा भएपछि ढुक्कले अगाडि बढे। बाटोमा मलाई नहेर्ने स्थानीयहरू कमै थिए होलान् नहोस् पनि कसरी टुरिष्टपारामा लठ्ठी टेक्दै हाफ पाईन्टमा लखर लखर हिँडिरहेको त्यसमाथि खुइले टाऊको। मेरो हिँडाई सानो खोलामा पुगेर अडियो! कारण घट्ट! आजभोलि घट्ट भेट्न धेरै मुस्किल भईसक्यो। स्वभाविक मलाई पनि हेर्ने रहरले तान्यो र केहीबेर घट्टका सञ्चालक दाजुसँग भालाकुसारी गरियो। संजोग उहाँ पनि मोक्तान हुनुहुँदो रहेछ। त्यस ठाउँलाई सुँडे भन्दो रहेछ। उही दाजुले केही दुरीसम्म मेरो साथ दिनुभयो। भोक लागिसकेको अवस्थामा पसल भेटिन्छ कि भनी दायाँबायाँ हेर्दै हिँडेको केही समयमा नै पसल हो होइन जस्तो देखे र पसे हो रहेछ। मैले खाने जस्तो केहि नभेटेपछि पानी पिएर चुइगम टोक्दै अगाडि बढे। त्यही पसलका सञ्चालक अशोक मोक्तान दाईले त्यतै बस्न सुझाव दिए पनि म रोकिन र त्यही भाईबाट थाहा भयो सुँडे भन्ने ठाउँमा प्राय मोक्तान परिवारहरुको बसोबास रहेछ। लगभग घडीमा ५:१५ बज्दै थियो म सुकुभञ्ज्याङ पुगे र त्यहाँबाट मेरो गन्तव्य मर्याङकोट स्पष्ट देखिन्थ्यो। स्थानीयको कुरा अनुसार अब मलाई २५ मिनेट अरु हिँड्नुपर्ने कुरा आयो। त्यति नै बेला भाईको फोन आयो र लगभग हामी घर पुग्यौ भन्ने खबर आयो। आउँदा साढे तीन घण्टा लागेको बाटो केटाहरूले डेट घण्टामा नै पूरा गरेछन्। कति दौडेका होलान् त्यो पनि त्यस्तो जङ्गल र भिरमा अनुभव भनेकै यही त होला भन्ठाने। स्थानीयले भनेजस्तै २०/२५ मिनेटको हिँडाईपछि म आफ्नो गन्तव्यमा पुगे तर बस्ने कहाँ ठेगान लागि सकेको थिएन। भाईको ससुराली छ भन्ने थाहा छ तर एकिन कहाँ छ थाहा थिएन। भाईहरूले सुझाएको ठाउँमा पुग्न अझै समय लाग्थ्यो भने म पनि चिन्दिनथे। त्यसमा पनि फोन उठिरहेको थिएन। स्थानीयले दिएको सूचनाको आधारमा भाईको ससुराली पत्ता लागाउने प्रयास गरे र सफल भए। बाटोमा नै भतिजलाई भेटेर केही समयको वातचित पछि भतिज मेरो झोला बोकेर घरतिर लाग्यो। ससुरालीमा बुहारी, भतिज छन् भनेपछि वास भयो भनेर ढुक्क भए र भतिजको पछि लागे। भोक लागिरहेको थियो भाईको ससुरालीमा मेसमानी त हुने नै भयो। दूध र सेलबाट मेसमानी सुरु भयो। श्रीमती ज्यू लाई आफू गन्तव्यमा पुगेको जानकारी गराए। थकाई लागेकोले बेलुकाको खाना खाएर ठूलो भतिज आशिषलाई भोलिको यात्रामा साथ दिन मनाएर सयन कक्षतिर लागे र फेरि कान सफा र औषधि मुलो गरेर मिठो सपनाको आशा राख्दै कम्बल भित्र घुसे।/br>
मर्याङकोट देखि हेटौडासम्मको पैदल यात्रा अघिल्लो रात नै आशिश भतिजलाई ढिलोमा ६ बजे निस्किनुपर्छ भनेर सुत्न लागेको हामी कम्तीमा बिहानको ५ बजे त उठ्नै पर्यो हुन त मेरो मोबाईलमा ५ बजे कै अर्लाम राख्ने गरेको छु, भलै ५ बजे अर्लाम बन्द गरेर फेरि सुत्छु त्यो अर्कै कुरा हो तर आज मलाई त्यो गर्ने कतै पनि छुट थिएन, त्यसैले अर्लाम सँगसँगै उठेर र बिहानको नित्यकर्म फत्ते गर्नतिर लागे। भतिज उठेजस्तो नलागेपछि आवाज दिए। ससुरबुवा भने ४ बजे नै उठेर वस्तुलाई घाँस खुवाएर आफू पनि तातो चिया पिउने सुरसारमा हुनुहुँदो रहेछ। ७० वर्षको उमेरमा पनि त्यो जोश जाँगर देखेर खुसी लाग्यो, तैपनि मनका कुनातिर आफैलाई प्रश्न गरिरहेको थिए। ७० वर्षको उमेरमा पनि यति धेरै खट्न किन? रहर हो या बाध्यता? छोरोलाई तयार हुन भने र ६:१० मा हामीले भाईको ससुराली घरबाट बिदा लियौ। भतिजले झोला बोकिदिने भएपछि म त्यसै पनि दङ्ग, भतिजले मर्याङकोटको आसपास केही समय बिताएकोले होला उस्लाई आसपासका ठाउँहरूको राम्रो जानकारी रहेछ। चुनिया भन्ने ठाउँ जहाँसम्म पुग्न हामीलाई लगभग ३ घण्टा लाग्ने कुरा सुनेका थियौ । त्यहाँसम्मको ठाउँको बारेमा प्राय भतिजले राम्रोसँग बतायो। मलाई यस्तो अनुभव लागिरहेको थियो कि म एउटा अनुभवी टुरिसष्ट गाइडसँग हिँडिरहेको छु। २५ मिनेटको हिडाईपछि हामीले नामटार सडक भेट्टायौ। अब भने यो सडकलाई नछोडी अगाडि बढ्दा चुनिया पुगिने रहेछ। चुनिया ठाउँ चाहिँ पृथ्वीराजमार्गमा पर्ने एउटा स्थान हो, जहाँबाट चाहिँ नामटार रोडभित्र आउने रहेछ। सडक मार्ग भएर कोही मर्याङकोट या यस आसपास गाडीबाट यात्रा गर्ने हो भने यही सडक नै त्यहाँको विकल्प रहेको मैले थाहापाए। बाटोमा कुमलटार, नामटार, कप्सेरी, डुनोट आदि ठाउँहरू हुँदै चुनिया गुम्बामा सुनेको समय सिमाभित्रनै पुग्यौ। गुम्बामा पुगेपछि हामीलाई छोटोबाटोबाट अगाडि बढ्नुपर्ने थियो तर कुन बाटो यकिन थिएन। त्यहाँबाट बुहारीलाई फोन गर्यौ र साथै गुम्बामा देखिएका व्यक्तिहरूलाई सोधपुछ गर्यौ।थाहा पायौ कि कच्ची रोडलाई हामीले आत्मसात गर्दै जानुपर्ने रहेछ। चुनियाँबाट जाने हो भने त्यसले हामीलाई पृथ्वीराजमार्गमा पुऱ्याउथ्यो, जुन लामो पर्थ्यो। गुम्बामा पुगेको एकचोटी गुम्बाभित्र छिरेर बाजेको नाममा बत्ती बाल्ने कुरा भतिजले गरेपछि ठिकै हो भन्ने लागेर भित्र तिर लाग्यौ। दुईजना लामा भित्र पूजापाठ गर्दै हुनुहुन्थ्यो भने एकजना लामा र साथमा अन्य सहयोगी लिएर पूजाका लागि चाहिने कुराहरुको चाजोपाजो मिलाई राख्नु भएको देख्यौ।हामीले हाम्रो उद्देश्य बताएपछि हात खुट्टा सफा गरेर भित्रकै बत्ति बाल्न सुझाव दिनुभयो । हामीले पनि भने जस्तै हातखुट्टा धोएर भित्र गई दुवै जनाले ३/३ वटा बत्ती बाल्यौ। मैले बुबाआमाको सम्झनामा बाले भने भतिजले हजुरबुबा आमाको सम्झनामा। बुद्ध प्रणाम पनि गर्यौं र बाहिर निस्किँदै गर्दा गुरुआमाले तयारी गर्दै गर्नुभएको पूजाको सामानहरु प्रति मैले केही जिज्ञासा राखे र थाहा पायौ त्यहाँ दशाग्रह फ्याक्ने पूजा हुन गइरहेको रहेछ। हामीलाई पनि पूजामा सामेल भएर आफ्नो दशाग्रह फ्याक्न सुझाव दिनुभयो। विश्वास हो त्यो पनि गुरुले भनिराख्नुभएको छ उहाँले सुझाएझैँ पैसा, कपाल आदि इत्यादि कागजमा पोको पारेर दिने कुरा भयो। तर मेरो हकमा भने टाऊकोको रौँदिन सकिएन। सकिन्छ कि भनेर टोपी खोलेको के थियो सबैजना हाँस्न पो थाले, किनकि म टक्ला थिए त्यसपछि उहाँहरुलाई धन्यवाद भन्दै त्यहाँबाट विदा भयौ। स्थानीय र पहिले नै त्यो बाटो हिँडिसक्नुभएका अनुभवी पैदल यात्रीकोहरूको कुरा सुन्दा भने अबको १ देखि डेढ घण्टामा हामी भैसे पुगिने आंकलन गर्यौ र यात्रा सुरु गर्यौं। कम मात्र मान्छेहरू हिँड्ने भएर होला बाटोभरि झारपात त्यो पनि कतै कतै त मान्छे नै पुरिने सम्मका थिए। प्राय मान्छे नहिड्ने भएर पनि त्यति वास्ता नगरेको होकी भन्ने लाग्यो। अव भने भोक लागे जस्तो भईसकेको थियो, विहान तातोपानी वाहेक र नामटारमा एक/एक कप कालो चिया वाहेक अरु खाएको थिएन, त्यसैले पनि भोक लाग्नु स्वभाविक थियो। यदि बाटोमा कसैको वारीमा मुला भेटिए खानुपर्ला भनेको सायद मुलाको सिजन थिएन होला हामीले भेटेनौ तर काक्रो भने भेट्यौ त्यो पनि बाटैमा । अव खान मन लाग्यो तर टिप्ने कसरी र कस्लाई सोध्ने ? वरिपरि हेऱ्यौ आवजपनि गऱ्यौ तर कतैबाट पनि प्रतिक्रिया आएन, अव विकल्प कि कसैले देखेको छैन टिपेर खाऊ या छोडिदिऊ। एकमनले काक्रो टिपम र लाग्ने पैसा त्यही वोटमुनतिर राखिदिम तर त्यो काम त्यति बुद्धिमानी हो जस्तो लागेन र नखाने सल्लाह गरेम। भोक लाग्दा लाग्दै पनि आफूभित्रको आत्मसम्मानलाई सम्मान गर्दै अगाडि बढ्यौं, लगभग १ घण्टाको हिडाईपछि एउटा चौतारीमा आइपुग्यौँ। जुन हामी हिँडेको सडक र किटिनी जाने सडक जोडिने रहेछ। केहीबेर तेही चौतारीमा आराम गर्ने सोच बनायौं र आराम गर्दै गर्दा केही खाने विचारले वरिपरि पसलमा आँखा लगायौ। भतिजले red bull खाने भनेपछि मलाई कोक ल्याउन सुझाव दिए। कोक त लिएर आएन तर क्याम्पा कोला भन्ने कोक जस्तै पेय पदार्थ लिएर भतिज आयो। मलाई नुनिलो खान मन थियो र त्यहाँ एक दिदीलाई नुनिलो गाउँघरकै लोकल केही पाइन्छ कि भनेर सोधे। सिस्नो पाक्दैछ भनेपछि, दिन मिल्छ भने अलिकता दिन अनुरोध गरे र केही समय पर्खिन सल्लाह दिनुभयो। त्यहाँ बस्दै गर्दा गाईगुई कुरा सुन्न थाल्यौ कि त्यो ठाउँमा मेरो भतिज जस्तै हुबहु मिल्ने अर्को भाई छ भनेर, सिस्नो पाक्यो र मलाई एक कचौरा सिस्नुको सुपले स्वागत गरेपछि त्यो स्वागतलाई स्वीकार गर्दै ग्रहण गरे। त्यतिन्जेलमा त्यो अनुहार मिल्ने भाईलाई खोजी ल्याईहालेछन् । हुन पनि लगभग हुबहु नै झट्ट हेर्दा छुट्याउनै गाह्रो पर्ने रहेछ, केही समय त्यहाँ फोटो सेसन नै चल्यो। मित लगाउने सम्म कुरा चलेको थियो तर समयको सीमा नौलो ठाउँमा मित लगाउने काम गरी नबस्ने निर्णय गर्यौ र विदावारी लिएर अगाडि बढ्यौ। हामी हिँडिरहेको बाटोले भैसे अवस्थित आर्मी ब्यारेकमा र पृथ्वी राजमार्गमा जोड्ने रहेछ। लगभग १ घण्टा ४५ मिनेटमा हामी चुनिया गुम्बाबाट भैसे पुगेछौँ। अब भैसेबाट हेटौडा लाग्यौ जुन ११ किलोमिटर थियो। बाटो सिधा भएपनि थाकिसकेको हुनाले छिटो हिँड्न सकेनौ त्यसैले होला दुई घण्टा लाग्छ भनेको बाटो हामीलाई पौने ३ घण्टा लाग्यो। हेटौडामा पुगेर लोकप्रिय भोजनालयमा खाना खाने सल्लाह भयो। तर भतिजले गाडी पाएमा साढे २ बजेको गाडीमा मर्याङकोट फर्किने कुरा गरेपछि पहिला खानाभन्दा टिकेटको बन्दोबस्त गर्नुपर्छ भनेर बसपार्कतिर लाग्यौ । २:३० को टिकेट २२० रुपैया तिरेर पक्का गरेर खाना खाने ठाउँतिर लाग्यौ। भैँसेबाट आउँदै गर्दा बाटोमा केरा किनेर खाएकोले होला, खान्छु भने जतिको खाना खान दुबैले सकेनौ। खाना खाईसकेपछि भतिजलाई खल्ती खर्च भनी १००० रुपैया दिई बिदा गरिदिए र घर पुगेपछि फोन गर्न सुझाए। म भने साथी छोरीको तिर ब्याग बोक्दै लखर लखर पैदल हिँड्न थाले। सोनिया छोरीलाई देखेपछि आधा थकाई नै गायब भयो। सायद अब आराम गरिन्छ र केही घरेलु उपचार गर्न सक्छु भन्ने मानिसकताले काम गरेको हुनुपर्छ। छोरीलाई पानी तताउन लगाए र त्यसमा नुन मिलाएर नुनपानीले हात खुट्टा राम्रोसँग सेकाए, हात खुट्टा धोए, अनि चिया र गाउँबाट आईपुगेको सेलरोटी खाने काम गरियो। केही समयको भलाकुसारी र ख्याल ठट्टापछि काठमाडौँ फर्किने सुमो काउन्टरतिर फोन लगाउन थाल्यौ। सुमो पाउने कुरामा कतैबाट पनि विश्वस्त हुन सकिएन। बेलुकाको ५ बजि सकेकोले पनि हुन सक्छ। त्यो भन्दा पनि भर्खर तिहार सकिएको र सबैजना काठमाडौँ जाने हुनाले पनि अभाव भएको हुनुपर्छ। मेरो योजना अनुसार शनिबार काठमाडौँ पुग्ने थियो त्यसैले पनि सजिलै हार मान्नेमा म थिईन। त्यसपछि सोनिया छोरीसँग सल्लाह भयो, जाउँ गाडीको काउन्टरतिर र बुझौं। खुसीको कुरा छोरीले स्कुटर सिकीकन लाइसेन्स पनि प्राप्त गरिसकेको र स्कुटर पनि भएको हुँदा काउन्टरतिर जान पनि समस्या भएन। पहिला त मैले नै चलाए सायद मलाई नै भर नलागेर हुनुपर्छ तर पछि टिकट पक्का गरिसकेपछि भने छोरीले चलाईन्। केहीबेर इतिश्री ।
पहिलोपटक EV माइक्रोबाट बेलुकाको ६ बजे छोरीसँग बिदा लिँदै पहिलोपटक EV माइक्रोमा काठमाडौँको यात्रामा अरु यात्रुसंगै निस्के। EV चढ्दै गर्दा कताकता डर भने लागिरहेको थियो कारण चाहिँ चितवनमा घटना घट्दा एकै ठाउँमा ८/९ जना अचार भएको भन्ने समाचारले हुनुपर्छ। तर EV ड्राईभर भाई युवराज खनाल सानै भएपनि अनुभवी र दुई वर्ष EV मात्रै चलाएको भनेपछि ढुक्क भए । यात्राभरि युवराज भाईले राम्रोसँग चलाएर कलंकी ल्याईपुर्यायो। कलंकीबाट सीतापाईला घर आउन पठाओ हेर्न थाले तर पठाओ भन्दा पहिला एउटा स्कुटर आएर म लिएर जान्छु भनेपछि र चिसो पनि भईसकेको अवस्थामा त्यही स्कुटरमा जाँदा उपयुक्त होला भनि स्कुटर चढे, संयोग भन्नुपर्छ स्कुटर पनि EV नै रहेछ। रातको ९:१५ तिर घर पुगे र छोरी, श्रीमती ज्यूलाई देखेपछि थकान नै हरायो। यँहा पनि मानसिकताले काम गरेको हुनुपर्छ, श्रीमतीज्यूले ख्याल गरेपछि त दुखाई त केही होईन जस्तो लाग्यो। श्रीमती ज्यू को साथ, छोरा छोरीको साथ, दाजुभाई तथा आफन्तहरुको सहयोग र हौसलाले पुरा भएको यो यात्रामा लगभग ६० किलोमिटर जति पैदल र १६० किलोमिटर जति गाडी चढियो । समग्रमा यात्रा सुखद र नयाँ अनुभवको समिश्रण रहयो।
धन्यवाद ! सिता कुमारी मैनाली सोनिया मोक्तान कृष्ण मोक्तान डिलबहादुर मोक्तान निरञ्जन पाख्रिन करिना चौधरी बिस्वेश श्रेष्ठ