Wander
Explore
Discover

Every journey tells a story.

September 28, 2025

4S र 4M को मिलन

मुस्ताङ हरकोहि एकपटक पुग्नै पर्ने र अनुभव लिनुपर्ने ठाउँ

केही वर्षदेखि हाम्रो परिवार (म, मेरो श्रीमती र छोरी) दशैँ विदाको मौकामा नेपालको कुनै एक पर्यटकीय स्थान घुम्ने लक्ष्य लिएर घुम्दै आइरहेकोमा यसपटक हामीले उपल्लो मुस्ताङ र मुक्तिनाथ घुम्ने निधो गर्यौ। गत साल हामीले ताप्लेजुङमा रहेको पाथीभरा मन्दिर घुम्यौं भने त्यो भन्दा पहिला हलेसि महादेव खोटांग घुम्यौ। यस वर्ष पनि २०८२ को दशैँ बिदाको मौका पारी असोज १२ गते मुस्ताङको लागी घरवाट चाहिने आवश्यक सरसामान पोको पारेर आफ्नै गाडीमा बिहान ८:१५ तिर सितापाइलाबाट निस्क्यौँ। त्यस दिन हाम्रो अन्तिम गन्तव्य बेनी भनेर निस्क्यौं। खल्तीमा पैसा थिएन जुन वाटोमा कतै ATM भेटाइहालिन्छ भनेर निस्कियौँ। सायद दशैँले गर्दा होला प्राय ATM मेसिनमा कि त पैसा थिएन या out of service भनेर थियो। बल्ल बल्ल धादीङ गजुरी पुगेपछि बल्ल एउटा ATM बाट पैसा निकाल्न सफल भए।

दशैँको समयमा भएकोले जाममा परिएलाकि भन्ने थियो तर भएन तैपनि गाडीहरुको चाप भने अघिपछिभन्दा धेरै थियो। खाना खाने ठाउँहरू पनि प्राय प्याक थिए। खाने समय हुँदा हुँदै पनि कति ठाउँमा गाडी रोक्ने ठाउँ नपाउँदा हामीले यात्रालाई निरन्तरता दिराख्यौं। अन्तत हामीले २:३० तिर आँबुखैरेनी होटल मुस्ताङमा खाना खायौँ । बाटोमा अरू केही नखाएको भने होइन श्रीमती ज्यूले फलफुलको बन्दोवस्त गरेकोले त्यही खादै गएको हुँदा पनि ढिलो खाना खानुपर्दा खासै फरक परेन। पोखरा पछिको बाटोको लागि भने google नक्साको साथ लियौँ र अगाडि बढ्यौं। पोखराबाट अगाडि बढ्दै गर्दा हेम्जा हुदै जाने क्रममा जुन बाटो देखियो त्यो चाहिँ तारिफ गर्न लायक नै भेटायौँ। कास्कीलाई छोडिसकेपछि हामी पर्वत जिल्लामा प्रवेश गर्दै कालीगण्डकी पुलमा आइपुग्यौँ जुन पुलले पर्वत र बाग्लुङलाई जोड्ने काम गरेको रहेछ। त्यहाँ पुगेर हामीले स्थानीयहरूलाई बेनी पुग्न खोजेको कुरा बतायौ, जहाँ गुगल नक्साले बाग्लुङ भएर जाँदा २२ किलोमिटरमा बेनि पुग्ने देखायो तर स्थानीयको सुझाव अनुसार अर्को वैकल्पिक बाटोबाट जाँदा १३ किलोमिटरमा बेनी पुग्ने थाहा पायौ र हामीले छोटो बाटो जाने निधो गर्यौं। हामी गुडिरहेको बाटो चाहिँ पुष्पलाल राजमार्ग रहेछ तर छोटो बाटो चाहिँ अर्को मालढुङ्गा बेनी सडक भन्ने रहेछ जुन बाटो भएर हामी बेनीतिर लाग्यौँ। बेनिमा पुगेपछि बल्ल थाहा भयो कि बेनी त पर्वतमा पनि र म्याग्दीमा पनि रहेछ। पर्वत बेनिमा खासै राम्रो बस्ने ठाउँ देखिएन र त्यहाँ फेरि स्थानीयलाई सोध्यौ ? के गर्दा राम्रो हुन्छ? सल्लाह आयो, सबैभन्दा राम्रो म्याग्दी तातोपानीमा गएर बस्ने जहाँ राम्रो होटलहरु पनि छन् त्यसमा हामीसँग पनि समय र थकान पनि त्यति नभएकोले सिधै म्याग्दी तातोपानी पुग्ने निधो गर्यौं र बाटो लाग्यौ। ठिक ५:३० बजे साँझ हामी सिधा Hotel Trekkers In मा पुग्यौ र कुराकानी मिलाएर कोठातिर पोकापन्तुर बोकेर लाग्यौं। कोठामा पुगेर नुहाइधुवाई सकेर तातोपानी कुण्डतिर हेर्न भनि हामी ८ बजे तिर लाग्यौ र १०० रूपैयाँ तिरी कुण्ड परिसर भित्र पस्यौ।

तातोपानी भित्र जाने नजाने भन्दा भन्दै म चाहिँ लुगा फुकालेर अण्डरवयरमा कुण्ड भित्र पसे। पानी तातो नै थियो र सुरुमा गाह्रो पनि भयो तर केही समयको बसाई पछि सजिलो र रमाइलो भयो। भिजेकै अण्डरवयर मा होटलसम्म आइयो किनकि हामी कुण्डमा पस्ने योजनाले नगएकोले फेर्ने कपडा लिएर गएका थिएनौँ। होटल नजिक र रात परेको हुँदा त्यो भिजेको कपडाले खासै धेरै फरक पारेन। त्यो दिन २९७ किलोमिटर गाडी चलाएको होला थकित भइसकेको थिए, त्यसैले त्यस दिन रातको ९:१५ मा खाना खाएर हामी सुत्यौ।

भोलि पल्ट सोमबार १३ गते हामी ७:४५ मा मुस्ताङको लोमन्थाङ पुग्ने लक्ष्य लिएर यात्रा सुरु गर्‍यौ र केही समयको यात्रापछि हामीले मनमोहक झरना देख्यौ र त्यहाँ केही समय बितायौ। त्यो मनमोहक झरनालाई रूपसे भन्ने रहेछ। सायद उकालो बाटो भएर हो कि गाडीमा क्लच प्लेटको नमिठो वास्ना आउन थाल्यो। साथै मनभित्र डरले डेरा जमाई हाल्यो कि कतै क्लज प्लेट जाने त होइन? कतै यात्रा यहाँसम्म त होइन? गाडीको बोनेट खोलेर हेर्दै Mechanic को झल्को दिने गरी हेर्न थाले तर के गर्नु देखिएर मात्र भएन काम त हुनुपर्यो जुन म नाम मात्रको मिस्त्रीबाट त्यो काम कहाँ पाएर हुन्थ्यो र। डरले डेरा जमाइसकेको अवस्थामा डरलाई डेराबाट निकालिसकेपछि मात्र अगाडी बढ्न सकिने भएपछि Real Mechanic दिपक महर्जन जि लाई फोन गरे र बेलिबिस्तार लगाए, त्यसपछि बल्ल डरले डेरा छोड्ने कुरा गर्यो र मिस्त्रीको सल्लाहअनुसार मैले गाडीलाई अगाडि बढाए। सायद परिवारको सम्पूर्ण सदस्य साथै गएकोले होला डरले पूर्णरूपमा डेरा छोडेन। गाडीको क्लच र ब्रेकमा केही समस्या देखिए पनि हामि 4S र 4Mको मिलन गराउने साहस र त्यसबीचबाट आनन्द र उत्साह लिने सोचका साथ अगाडी बडिरहयौ |4s भन्नाले (Singh,Sita,Sagun,Sarlahi) र 4m भन्नाले (Moktan,Mainali, Mustang &Muktinath) हो। हामी मार्फा हुँदै जोमसोम पुग्यौ जुन ठाउँ मलाई चाहिँ धेरै राम्रो लाग्यो। कागबेनी पुगेपछि लोमान्थाङ र मुक्तिनाथको बाटो छुट्टिने रहेछ त्यहाँ पुगेर हामी अल्मलियौ तर केही समयको छलफलपछि एउटा बाटो समात्यौ जुन बाटोले हामीलाई कागबेनीको सर्राद्द गर्ने क्षेत्रमा पुर्‍यायो। कागबेनी पछि सायद २/३ किलोमिटर जति मात्र कालो पत्रे सडक हामीले भेटायौं होला त्यसपछि भने कोरला नाका सम्मनै ग्रयाबल हो कि जस्तो बाटो भेटायौँ। घुम्न गएकोले होला मनमोहक दृश्य देख्न साथ तस्बिर खिच्ने र त्यसको आनन्द लिने, गाडी ठाउँठाउँमा रोक्दै जिउ तन्काउदै विस्तारै अगाडि बढ्यौ । बिस्तारै जादा पनि कुनै गाडीले मलाई उछिन्ने र अगाडि जाने कोसिस गरेनन् बरु मैले चाहिँ धेरै गाडीहरूलाई उछिन्दै गए। अब दिनको खाना खानु थियो भोक पनि लागिसकेको तर अलि पर अलि पर भन्दा भन्दै हामी उपल्लो मुस्ताङ नै पुगिसकेको रहेछौ। खाना खाने निधो गरेर खाना पाइने आशाले गाडी रोक्यौ, थाहा भयो खाना त अडर दिएपछि मात्र बन्ने रहेछ र बन्नलाई कम्तिमा ४५ /१ घण्टा लाग्ने रहेछ। हुँदैन भनी अगाडि पुगेर अर्को होटलमा सोध्यौ त्यहाँ पनि त्यही उत्तर आएपछि हामीले केही समय आराम गर्ने र खाएर मात्र अगाडिको यात्रा गर्ने निर्णय गर्यौ। भने जस्तै १ एक घण्टा भित्र खान बनेर पनि खाने काम सिध्यायौ। आराम गर्ने क्रममा नै हामीले त्यही भेटिएका यात्री र स्थानीयलाई सोध्यौं, यदि हामी कोरला नाका पुग्न चाहेमा के होला? त्यो बिन्दुबाट ३ घण्टामा कोरला नाका पुग्ने कुरा सुनिसकेपछि हामीले सिधा कोरला नाका पुग्ने र फर्केर लोमान्थाङमा बास बस्ने निर्णय गर्यौ। यो निर्णय लिँदै गर्दा हाम्रो घडीमा १२ बजिसकेको थियो।मलाई गाडी चलाउन रमाइलो र सहासिक काम जस्तो लाग्छ। त्यसैले पनि होला ३ घण्टा लाग्छ भनेकोमा हामी २:३० घण्टामा नै कोरला नाका पुग्यौ। कोरला नाका जानु पूर्व नै नेपालको भन्सार कार्यालयको चेक पोइन्टमा गाडी र ड्राइभरको विवरण दिनुपर्ने रहेछ। हामीले पनि दियौ र त्यही क्रममा भन्सार कार्यालयको शौचालयमा मुत्र विसर्जन गर्यौं।

भन्सार कार्यालय र अन्य नाका सुचारु नभएर हो कि विद्युतीय गाडीहरू चौरभरि काठमाडौँ जान तयारी अवस्थामा बसिरहेको पायौ। त्यो गाडीको भिडमा धेरैजसो BYD को गाडी देखियो। मन मनै सोचे electric Vehicle यस्तो बाटोबाट काठमाडौँसम्म पुग्दा के हालत होला ? सायद बाटोको कारण हो या अन्य केही, हरेक ४/५ किलोमिटरको फरकमा कुनै न कुनै गाडी सडकको किनारामा राखिएको देखिन्थ्यो। जब हामी ३ बजेको आसपास कोरला नाका पुग्यौ। त्यहाँको अवस्था देखेपछि मनको एउटा कुनामा खुसी थियो भने अर्को कुनामा दुःखी। खुसी यो अर्थमा कि हामीले जुन लक्ष्य लिएर सपरिवार गएका थियौँ त्यो लक्ष्य पुरा गर्‍यौ र यात्राका दौरान देखिएका ती प्रकृतिको अदभुत दृश्यले मस्तिष्कलाई आनन्दित बनायो। अर्को अर्थमा त्यहाँ पुगेपछि धनी हुनुमा गरिब हुनुमा फरक एउटा Pillar वारीको अवस्था र पारीको अवस्थाको दृश्य देखेर चाहिँ नरमाइलो चाहिँ लाग्यो। यी सबै हुनुमा कतै नेतृत्वको कमी कमजोरी र मेरै कारणले त होइन भन्ने लाग्यो, यस्तै अनुभव बटुल्नलाई होला हामीलाई हाम्रा अग्रजहरूले घुम्नु पर्छ अनुभव लिनुपर्छ भन्नुभएको, मुस्ताङ हरकोहि एकपटक पुग्नै पर्ने र अनुभव लिनुपर्ने ठाउँ चाहिँ होरहेछ। त्यहाँ केही समय बितायौ र ३ हजार जतिको किनमेल गरेपछि फर्किने तयारी के गर्दै थियौ दुईजना सशस्त्र प्रहरीका साथीहरू हामीलाई पनि तल चेक पोस्टमा पुर्‍याइदिन भन्दै आउनुभयो र मैले पनि श्रीमती ज्यूको सहमति लिँदै बस्न अनुरोध गरे | म जस्तो लुरे मान्छेलाई त उडाउला झैँ गरी हावा चल्दो रहेछ त्यसैले पनि होला हामी धेरै समय बसेनौ, साथै त्यहाँ हेर्न र घुम्ने विकल्पहरू पनि थिएनन्। त्यहाँ चलेको हावा देखेर मनमनै सोचे यो हावाबाट पनि बिजुली निकाल्न सकिन्थ्यो होला, किन नगरेको होला यस्तै यस्तै सोच्दै हामी तलतिर झर्यौँ र बाटोमा ति सशस्त्रका साथीहरूसँग कुरा भयो र थाहाँ भयो कि उहाँहरूलाई भन्सार चेकपोस्टबाट नाका सम्म जान हरेक दिन यसरी नै लिफ्ट मागेर काम चलाउने रहेछ | यदि हिँडेर जाने हो भने डेढ घण्टा लाग्ने रहेछ। एउटा गाडी छ कता मात्र जाने त्यसैले हामी यसरी नै काम चलाउछौँ। चाइनातिर ठूलाठूला संरचना नेपालतिर साना साना छाप्रा सोचे अहिलेको अवस्थामा यति नै सम्भव होला। सायद यस्तै यस्तै अवस्था हरू देखेर होला आफूलाई पनि लाग्छ मैले पनि नेतृत्वमा पुग्ने साहस राख्नुपर्छ र देशलाई इमान्दारीताका साथ केही देखिने काम गर्नुपर्छ जस्तो लाग्यो। सशस्त्रका साथीहरूको सल्लाह अनुसार हामी सिधा लोमान्थाङ नगई त्यही बाटोमा अवस्थित गुफाहरु, गाउँ घुम्ने र फर्किने योजना बनायौ र गुफा तिर लाग्यौं। गाउँ घुम्नलाई होइन, त्यहाँ रहेका गुफाहरू र गुम्बाहरूमा जानको लागि भने १०० रूपैयाँको टिकेट लिनुपर्ने रहेछ। हामीले टिकेट लियौ र पैदल हिँड्ने निर्णय गर्यौ। पैदल १५ मिनेट जतिको हिडाइपछि सानो गाउँ जहाँ मान्छेहरूको केही भिडभाड लागेको देखेर म र छोरी त्यतैतिर लाग्यौँ। त्यो भिडभाड गाउँको मान्छे मरेको र उन्कै काजक्रियामा सहभागी हुन जम्मा भएका रहेछन्। त्यताको संस्कार र संस्कृति बुझ्न केही समय त्यही बस्ने सोच गरे तर छोरीले मानेन सायद ९ वर्षको छोरीलाई ती कुराहरूमा चाख नभएको हुनुपर्छ। अर्को ५ मिनेटको हिँडाइपछि त्यहाँको सबैभन्दा ठूलो गुफातिर लाग्यौ। त्यो छोसेल गुफा र गाउँ घुमेपछि हामी फर्किने भयौँ। अन्य गुम्बा र गुफाहरू जान खोजे पनि छोरीले नजाने भनेपछि हाम्रो केही लागेन। त्यहाँबाट हामी छोटो बाटोबाट मुख्य बाटोमा जाने भयौँ। तर स्थानीयले हामीलाई सजग गराएकी खोला तर्नुपर्छ गाडीलाई गाह्रो होला किनकि भर्खर सानो गाडी नसकेर फर्केको छ। मलाई विश्वास थियो 4-wheeler Duster छ अवश्य जान्छ र भने जस्तै सजिलै पार गर्‍यौ।

त्यसपछि हामी सरासर लोमान्थाङ आइपुग्यौँ र एउटा होटल बाहिरबाट हेर्दा राम्रो जस्तो लागेर बुझ्न भित्र गयौ र ठिकै लागेपछि बस्ने निधो गर्यौं HOTEL TRI BHADRIKA | एक रातको बसाइ पछि अब बिहानको खान साजा खाएर मुक्तिनाथ तिर लाग्ने कुरा र योजना अनुसार तयारीमा जुट्यौ तर त्यो भन्दा पहिला हामीलाई लोमान्थाङ बजार घुम्नु थियो। तलतिर झर्नु अगाडि हामी खाजा खाएर मुस्ताङ राजाको दरबार र सानो बजार बिहानको न्यानो घामको आनन्द लिँदै बजारतिर पैदल लाग्यौ। मुस्ताङको आलु लिएर जानु पर्छ भनेर आलुको लागि सोध खोज गर्दै थियौ होटलको साहुनीले आफ्नै बारीमा रहेको र चाहिएमा खनेर भएपनि दिने कुरा गर्नुभयो र हामीले पनि हुन्छ भन्यौ ।बजार र दरबार घुम्दै गर्दाको समयमा आलु पनि खनेर आइपुग्ने आंकलन गरेर पैदल घुम्न निस्केको हामी लगभग 1 घण्टा जतिको पैदल घुमेर आउँदा, भने जस्तै आलु पनि हामीसँगै जाने तयारी अवस्थामा रहेछ। त्यहाँ किलो हैन पाथीमा दिने रहेछ पाथीको २०० रूपैयाँले 2 पाथी लिएर आयौ जुन हामीलाई सस्तो नै लाग्यो। हाम्रो योजना मुताबिक हामी १४ गते मुक्तिनाथमा पुग्ने र त्यतै बस्ने थियो। त्यसैले लोमान्थाङ बाट निस्कन पनि त्यति हतार गरेनौ। हामी परिवार कालो चिया र Butter Cracker खाएर त्यहाँबाट अगाडि बढ्यौ। तर भोकले अलि छिटो नै खाना खोजेजस्तो लाग्यो। बाटोमा खाना खोज्ने बित्तिकै कहाँ पाइन्थ्योर, श्रीमती ज्यु साह्रै दुरदर्शी हुनुभएर बाटोमा भोकले त्यति सताउन पाएन फेरि पनि त्यही घरबाट लिएर गएको स्याउ लड्डु र विस्कुटले काम गरिहाल्यो। फेरि अघिल्लो दिन जहाँ खाना खाएका थियौ त्यहि पुग्यौ र खाना बनाउन अनुरोध गर्यौ| सायद हामीलाई त्यस होटलको खानाले तानेको हुनुपर्छ किनपनि नतानोस खाना हामीलाई मिठो लागेको थियो।।

आराम र मिठो खाना खाइसकेपछि फेरि मुक्तिनाथ तर्फ लाग्यौ। सायद मेरो गाडीको चलाई अलि रफ्तार भएर वा बाटोमा रोकावट नभएर, हामी मुक्तिनाथ अलि सोचेभन्दा अगाडि नै पुग्यौ। अब हामी दोधारमा पर्‍यौ, त्यस्तै बास बस्ने या दर्शनपछि अगाडि बढ्ने ? घडीमा दुई बज्दै थियो त्यसैले श्रीमती ज्यु सँग सल्लाह गरियो र सल्लाह मुताविक भ्याएसम्म अगाडिनै बढ्ने, हामीले परिस्थिति बुझेपछि थाहा लाग्यो एक देखि २ घण्टामा मुक्तिनाथको दर्शन गर्ने काम भ्याइन्छ। त्यसैले मैले मुक्तिनाथ तिर पैदल लाग्ने निधो गरे भने छोरीको रहर मुताविक छोरी र आमा भने घोडामा मन्दिरतिर लागे। भने जस्तै लगभग २ घण्टामा सबै काम सकिएपछि लगभग ४ बजेतिर हाम्रो परिवार म्याग्दी तातोपानीलाई तार्गेट गरी त्यहाँबाट अगाडि बढ्यौ। मुस्ताङ गइएको छ त्यसैमा त्यताबाट ससुराली पनि पुग्नु छ भने मुस्ताङबाट कोसेली त लिएर जानु पर्‍यो, त्यो भनेको मुस्ताङको स्याउ नै हो। तातोपानी पुग्ने क्रममा नै हामी मार्फामा स्याउ र अन्य कोसेली किन्नको लागि रोकियौं। हामीले त्यहाँ किलोको दुई सयको दरमा १२ किलो स्याउ र लोकल टिमुर किनेर कोसेलीको इन्तजाम गयौ। हामी त्यस दिन बेलुका छ बजेतिर तातोपानी पुग्यौ। मार्फामा स्याउ बेच्नु हुने साउनीले सल्लाह सुझाव बमोजिम र छोरीले पनि अलि फ्यान्सी होटलमा बस्ने भन्ने कुरा आएपछि होटल natural spring private limited मा सिधा गयौ र कोठा छ छैन भनी सोधपुछ गर्‍यौ। पानी परिरहेकोले पनि हामी अरू होटेलहरूमा गएर सोधपुछ गर्ने समय पनि भएन र सो होटल पनि त्यहाँ वरिपरि हामीले देखेको मध्य स्ट्यान्डर नै देखिन्थ्यो र रहेछ पनि, पानी परिरहेको छ तर पनि हामी दुई श्रीमान श्रीमती तातोपानीमा बस्न जाने कुरा गर्‍यौ। म भने पानी परिरहेकोले अलि जाउँ नजाउ दोधारमा थिए तर श्रीमती ज्यूले जाउँ भनेपछि सक्कीगो छाताको सहायता लिएर दुईजना केही दुरीमा रहेको तातोपानी कुण्डमा पुग्यौ र छाता ओड़दै दुबैजनाले तातोपानीको झन्डै ४५ मिनेट जति आनन्द लियौ। होटल फर्केर फेरि नुहाइधुवाई गरेपछि खाना खायौ र सुत्यौ। भोलि बिहान होटलमा खाजा खाएर हेटौडा पुग्ने र बास बस्ने लक्ष्य लिएर लगभग हामी ९ बजेतिर होटलबाट अगाडि बढ्यौ। मेरो मनमा चाहिँ पोखरा पुगेर खाना खानुपर्छ भन्ने थियो तर पेटले चाहिँ पोखरा पुग्नु अगाडि नै खान मागिसकेको थियो। यतिबेला सम्ममा घरबाट लिएर गएको फलफुल र अन्य खानेकुराहरु सकिसकेको थियो तर पनि हामीले पोखरा पुगेरै खाना खाने निधो गर्यौ र यात्रालाई जारी राखिराख्यौ। दिउँसोको २:३० बजेतिर हामी पोखरा पुगिसकेका थियौ। पोखरामा पुगेपछि तीनवटा काम गर्ने कुरा थियो पहिलो अन्डरवेयर र भेस्ट भाटभटेनिमा गएर किन्ने, दोस्रो पोखरामा हाम्रो संस्थाले बेबस्थापन (Management) गरिरहेको Corporate Guest House का कर्मचारी साथीहरूलाई भेट्ने र तेस्रो थकाली भान्छामा गएर टन्न खाना खाने यी ३ मध्ये Guest house का कर्मचारी साथीहरूलाई भेट्ने काम भयो बाँकी हुन सकेन कारण भाटभटेनी जेन्जीको आन्दोलनमा भष्म भएको रहेछ, भने प्राय थकाली खाना खाने ठाउँहरू दशैंले गर्दा बन्द रहेछन। त्यसैले खाना नखाइ नै हामी अगाडि बढ्यौ। त्यतिबेलासम्ममा गाडीलाई पनि भोक लागिसकेको थियो, त्यसैले गाडीलाई तेल खुवाउनका लागी पेट्रोलपम खोजीमा लाग्यौ र त्यही मौकामा वरिपरि खाना खाने ठाउँ भेटाएमा खाना खाने सोच बनायौ तर सफल भएनौँ तर गाडीलाई भने तेल खुवाउने काम गरियो| बाटोमा सिद्धार्थ होटल दमौलीको बोर्ड देख्यौ र ढुक्क भयौकि अब भात खान पाइन्छ त्यसपछि हामी सिधा दमौली सिद्धार्थ होटलमा पुग्यौँ र खानाको अर्डर दियौ र केहीसमयको पर्खाइपछि मीठो खाना खायौ, त्यतिबेलासम्ममा साढे ५ बजिसकेको थियो। ढिलो भएको बेला चस्मा बिर्सेछु, धन्न दुई किलोमिटरको दूरीमा नै सम्झेर फिर्ता आएर लिएर गयौ।

दशैंले गर्दा होला बाटो प्राय खाली थियो र त्यसमा पनि नयाँ र फराकिलो बाटो सम्भवत पहिलो पटक होला दमौली देखि आबुखैरेनीसम्म पाँच गियर मा नै पुगेछु। गाडीको गति ८० भन्दा तल झरेन पनि दमौलीदेखि मुग्लिनसम्म ५५ किलोमिटर जति देखाएकोमा मैले त्यो दुरि ३० मिनेटमा पार गरेछु। मुग्लिनदेखि गाडीको बत्तिबाल्नु पर्यो। त्यसपछि भने गाडीको गति घट्ने नै भयो। मलाई चाहिँ रातमा भन्दा दिनमै गाडी चलाउन मजा आउँछ, जे होस् हामी दमौली देखि मकवानपुर मनहरी दुई घण्टामा पुगेछौं। मनहरीमा आफ्नो ठूलो दाजुको परिवार, काकाको परिवार र अन्य आफन्तहरू भएको हुँदा दशैँको माहोलमा भेटेर जानु पर्यो भन्ने विचारले त्यतातिर पस्यौ र सबैलाई छोटो मिठो भेटघाट गरी अगाडि बढ्यौ‌ | मनहरीमा गाडी लक भएन कारण चाबीले काम गरिरहेको थिएन, अब तनाव गाडीमा लक भएन भने त गाडी भित्रको सामान के गर्ने भन्ने भयो। त्यसैले security भएको होटलमा जानुपर्छ भन्ने भयो। सिधै Avocado होटलमा जाने सोच बनायौर अगाडि बढ्यौ। मनहरीबाट दुई तिन किलोमिटर गुडाईपछि हामीले ठूलो मुसलधारे पानीको सामना गर्‍यौ। wiper लाई पनि हम्मे हम्मे परेको थियो, त्यसमा पनि चट्याङ्को आवाज टाढाको देख्न मुस्किल लगभग होटल पुग्दासम्ममा नै यही अवस्था थियो | Avocado होटल पुगेपछि तातोपानीमा नुहाई सकेपछि आराम र खानाको कुरा भयो तर पाँच बजे खाना खाएकोले हामीले खान नखाई सुत्ने निधो गर्यौ। लगभग ३०३ किलोमिटरको यात्रा गरेको हुँदा खुट्टा र जिउ दुखिरहेको थियो प्राय झण्डुबाम वा सन्चो लगाएर सुत्ने म त्यस दिन भने दुवै सकिएको अवस्था थियो। अब के गर्ने भन्दै गर्दा याद आयो कोरला नाकामा किनेको ब्राण्डीको जुन बेच्नु हुने आमाले भन्नुभएको थियो कि जिउ दुखेको ठाउँमा लगाउँदा र पिउदा यसले आराम गर्छ। मैले पनि पहिला दुखेका भागहरूमा लगाएर ani आधा कप भन्दा अलि कम थियो होला त्यो धुटुक्क पारिदिएँ। आफूले आजसम्म पिउँछु नै भनेर रक्सी पिएको याद छैन तर आज जिउ पनि दुखेको भन्ने लागेर घुटुक्क पारेपछि पो थाहा भयो रक्सी पोरहेछ। त्यति रक्सीले त मलाई फनफनी घुमायो। सायद त्यही रक्सीको कमाल हो कि थकाइ हो एकैचोटी बिहान ६ बजे मात्र आँखा खुल्यो। बिहान तातोपानी खायौ र छोरीलाई भोक लाग्यो भनेपछि Milk and Conflex खुवाए । श्रीमती ज्यू तयारी हुन समय लाग्ने भएपछि आफूले नुहाउनुपर्ने काम सकिएकोले होटलको साहुजीलाई भेट्ने मौका जुराए किनकि उहाँहरूलाई म व्यवसायिक हिसाबले चिनजान र साहुजीका जेठा छोरा विक्रम खरेल सर पनि अस्ट्रेलियाबाट आउनुभएको थियो। पहिलो उहाँसँग केही कुरा गरिसकेपछि बुबा भागिरथ सर र आमालाई भेट्न उहाँकै निवास तिर लागे, केही समयको भलाकुसारीपछि होटलको रूमतिर फर्के। त्यतिन्जेलमा श्रीमती ज्यू तयार भइसक्नुभएको रहेछ। हामीले केही नखाई साइतको टीका लगाउने र त्यसपछि मात्र खाना खाने निर्णय गरेबमोजिम हामी करिब १० बजेतिर हेटौडा Orchid Avocado hotel बाट सर्लाही ससुरालीतिर लाग्यौ। ठ्याक्क १:३० मिनेटको यात्रापछि ससुराली पुगियो त्यतिबेलासम्म घरका अन्य सदस्यहरूले टीका लगाइसक्नुभएको रहेछ लगतै हामीले पनि टिका लगायौ र खाना खायौ। वरिपरि नै आफन्तहरू भएकोले दिनभरि जस्तै टिका लगाउन हिँडियो अर्को दिन पनि टिका लगाउन गइयो र काठमाडौँ फर्किने कुरा गर्यौ। तर स्कुलको मिटिङमा श्रीमती ज्यू बस्नुपर्ने भएपछि हामी शनिबार मात्र फर्किने निर्णय गर्‍यौं। सर्लाहीमा एउटा स्कुलमा श्रीमती ज्यू को नामबाट हाम्रो परिवारको सानो लगानी रहेको ले शुक्रबार बस्न बाध्य भयौ।

म आफैलाई चाहिँ दशैँ ससुराली जान रमाइलो लाग्छ त्यसमा मुख्यत दुई कारणहरू छन् पहिलो हाम्रो परिवार शाकाहारी जुन ससुराली पनि शुद्ध शाकाहारी जसले गर्दा भान्सा मिल्यो। दोस्रो ज्वाइँ भएर गइसकेपछि दक्षिणा पनि राम्रै आउने। जे होस् यो अवधिमा हाम्रो परिवारले घुम्दा जति पैसा खर्च गरेका थियौ, त्यसको एक चौथाइ चाहिँ परिवारले टीका लगाएर उठायौ होला शनिबार बिहानै ६ बजे काठमाडौँको लागि आमा र परिवार काठमाडौँ निस्कने कुरा थियो तर छिमेकी भाइलेसँगै जाने कुरा गरेपछि ६ को सट्टा ९/१० बजे जाने कुरा भयो | मौसमविभागको कुरा अनुसार लगतार ठूलो वर्षा हुने कुरा थियो त्यसैले पनि सँगै जाँदा राम्रो होला भन्ने लाग्यो। बिहान भयो ९ बज्दा पनि छिमेकी भाईको जाने सुरसार नदेखिएपछि हामी काठमाडौँको लागि टिका र दक्षिणा लिएर अगाडि बढ्यौ। हल्का वर्षा हुँदै थियो त्यो भन्दा पनि रातिनै राम्रै बर्षा भइसकेकोले शंका त लाग्ने भयो नै सजिलो गरी काठमाडौँ पुग्छौ होला कि नाई यस्तै दुबिधाका बीच अगाडि पुग्यौ र कलैया पुग्दा पुग्दै एकजना मित्र जो सर्लाही मै हुनुहुन्थ्यो उहाँले फोन गरी भन्नुभयो काठमाडौँ जाने सम्पूर्ण नाका बन्द भयो रे तैपनि हामीले हेटौडा सम्म पुगेर बल्ल निर्णय लिने सोच्यौँ र अगाडि बढ्यौ। हामीले गाडीको छाता कता राख्यौ भन्ने क्रममा लाग्यो Avocado होटलमा छोडेको हुनुपर्छ र फोन गर्दा पक्का भइहाल्यो छाता मात्र होइन लुगा पनि छुटाएका रहेछौँ जुन लिनको लागि भए पनि हेटौडा पुग्ने सोच बनाएका थियौं। होटल पुग्यौँ र छुटेका सामान लियौँ र त्यही नै समाचार सुनेँ हेटौडाबाट काठमाडौँ जाने सबै गाडीलाई रोकिएको छ बाहिर निस्कियो र होटलको कर्मचारीलाई सोध्यौँ र भन्नुभयो गाडीहरू गइरहेका छन् हामी हिड्यौं तर हेटौडाको चौकी हेटौडाबाट ट्राफिक र पुलिसले गाडीहरुलाई रोकिरहेको रहेछ। छुट्छकि भनेर लगभग २ घण्टा जति बसिसकेपछि हामीले फर्किने निर्णय गर्‍यौ। अब काठमाडौँ पुग्न ८० किलोमिटर सर्लाही पुग्न ९५ किलोमिटर बीच बाटोमा आएर फर्किने निर्णय गर्‍यौं।हामी होटलमा बस्न सक्थ्यौं तर बन्द २/४ दिन हुने हल्लाले गर्दा ससुराली नै फर्किदा किफायती हुने देख्यौं र त्यसै गर्यौ। घनघोर पानी र लच्काहरूलाई पार गर्दै बेलुका छ बजेतिर घर पुग्यौ र सोमबार मात्र काठमाडौँ जाने सोच बनायौं। अब आइतबार छुटेका आफन्तहरूको मा टिका लगाउन गयौ र हेटौडासम्म गएर फर्किदा भएको तेल खर्च बराबरको पैस दक्षिणा बाट भरपाई गरियो सोमबार बिहान ६:३० बजे घरबाट काठमाडौँको लागि निस्क्यौ र अलि अलि जामलाई झेल्दै ६ घण्टाको यात्रा पार गरेर काठमाडौँ पुगियो र हाम्रो असोज १२ आइतबार सुरु भएको दशैँ भ्रमण 4S=4M लाई हासिल गर्दै असोज २० गते सोमबार काठमाडौँ पुगेर अन्त्य गरियो यो यात्रा मा साथ र सहयोग पुर्याउनुहुने सम्पूर्णलाई मुरीमुरी धन्यवाद।। यसरी नै अर्को Traval Story लिएर आउनेछु नमस्ते।।

Open Gallery
👁 Visitors: Loading...